आज (मंगलबार) पनि देशभर मौसम बदली भई विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। अहिले बिहान पनि प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।
उनका अनुसार आज दिउँसो पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।



‘यस क्रममा आज अपराह्नपछि काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ’, मौसमविद् शाक्यले मंगलबार बिहान भनिन्, ‘तर काठमाडौं उपत्यकामा पनि सबैतिर पानी पर्दैन, कतै कतै मात्र वर्षा हुने सम्भावना देखिएको छ।’
यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ: प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
तीन दिन वर्षाको सम्भावना (महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन)
वैशाख २० गते मंगलबार
दिउँसो : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख २१ गते बुधबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको हुने सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
वैशाख २२ गते बिहीबार
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ , मधेश प्रदेश तथा बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।




