
बर्दिवास- मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु आवश्यक रहेको बताएका छन् ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धि समिक्षा एवं अनुशिक्षण कार्यक्रमलाई समुदघाटन गर्दै मुख्यमन्त्री राउतले कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताए ।

मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात कर्मचारीहरुकै रहेको उल्लेख गरे ।
सुशासन कायम गर्ने पहिलो खुडकिलो स्वमुल्यांकन रहेको उल्लेख गर्दै उनले स्वमुल्यांकन लाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन समेत दिए । प्रदेशका अधिकांश स्थानीय तहले स्वमुल्यांकन नतिजा प्रकाशन गर्न नसकेको तर्फ इकित गर्दै मुख्यमन्त्री राउतले भने, ‘ हामी आफनो मुल्यांकन समेत हामीले गर्न सकि रहेको छैन, कसरी सुशासन सम्भव हुन्छ । ’
जनप्रतिनिधिहरु एउटा निश्चित अवधी मात्र रहने तर कर्मचारी हरु लामो समय रहने भएको हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको बताए।
प्रदेशमा भ्रष्टाचार अन्तको लागी जनलोकपाल आयोग गठन भै सकेको जानकारी गराउदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकार आयोगको रहेको हुँदा सचेत रहन आग्रह समेत गरे।