मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव लिएर उपसभामुखको कार्यकक्षमा पुगेका ७ दलका सांसदमाथि सभामुखले कुटपिट र हातपात गरेका छन्।
उपसभामुख बबिता राउतले सभामुखविरुद्धको महाअभियोग पत्रमा तोक लगाएर दर्ताका लागि पठाएपछि विवाद चर्किएको थियो।
महाअभियोगपत्र दर्ता गर्ने प्रक्रियामा कर्मचारीहरू रहेकै बेला अचानक प्रदेशसभा सचिवालय पुगेका सभामुख मण्डलले लोसपाका सांसद उपेन्द्र महतो र जनमतका संसदीय दलका नेता महेश यादवलाई कुटपिट गरेका हुन्। सभामुख मण्डलले त्यहाँ उपस्थित ७ दलका अन्य सांसदहरूमाथि पनि हातपात र अमर्यादित व्यवहार गरेको जनमतका सांसद चन्दन सिंहले बताए।
सांसदहरू उपसभामुखको कार्यकक्षमा थिए ।उपसभामुखको कार्यकक्षमा थुनिएका सांसदलाई प्रहरीले उद्धार गरेको छ । सिंहका अनुसार प्रहरीको कडाइका बीच करिब ४० मिनेटसम्म सांसदहरूलाई भवनभित्रै थुनिएको थियो। पछि सुरक्षाकर्मीहरूको रोहबरमा उनीहरूलाई बाहिर निकालिएको हो।। सांसद सिंहले सभामुख मण्डलले प्रदेशसभाको पछाडिको ढोकाबाट ५० जना जति मानिसहरू भित्र छिर्न लगाएर आफूहरूमाथि आक्रमण गरेको जनाएका छन् । प्रदेशसभा सचिवालयको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ।




