मधेसको प्रदेशसभा अगाडी ७ राजनीतिक दलका प्रदेशसभा सदस्यता तथा नेता कार्यकर्ताहरुले सभामुख विरुद्ध विरोध प्रदर्शन गरेका छन् । सभामुख रामचन्द्र मण्डलमाथि पद अनुकुल आचरण नगरेको प्रस्ताव दर्ता भईसकेको अवस्थामा समेत अनाधिकृत रुपमा प्रदेशसभाको काममा अवरोध सिर्जना गरिरहेको अरोप लगाउँदै उनीहरु सभामुखविरुद्ध प्रदर्शनमा उतरिएका हुन् ।
सयौको संख्यामा ७ राजनीतिक दलका नेता कार्यकर्ताहरु मुख्यमन्त्री नियुक्ति तथा सभामुख विरुद्ध नारावाजी गर्दै प्रदेशसभा अगाडी जम्मा भएका हुन् । सभामुखविरुद्ध प्रस्ताव दर्ता भईसकेपछि प्रदेशसभा संचालन नियमावली अनुसार सभामुख निलम्बित हुनुपर्ने व्यवस्था रहेपनि उनले जबरजस्ती प्रदेशसभाको कामकारबाही अनाधिकृत रुपमा अवरोध सिर्जन गरेको माओवादी केन्द्रको संसदीय दलका नेता भरत साहले बताए । उनले सभामुख मण्डल आफूविरुद्ध प्रस्ताव दर्ता भएको विषयलाई इस्यु बनाएर ५ जना प्रदेशसभा सदस्यहरुलाई बिना कारण पदमुक्त गरेकाले विरोध प्रदर्शनमा उतरिनु परेको जानकारी दिए ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका थिए । उनले नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा संकर प्रसाद कलवारमाथि कारबाही गर्दै पद मुक्त गरेको जनाएका थिए । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ ।
सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ । उनीहरूलाई पदमुक्त गरिएको सूचना सभामुखले बिहिबार निकालेका थिए ।




