विनय आजाद,सिरहा - नेकपा एमालेद्वारा सिरहा सदरमुकाममा आयोजित कार्यक्रममा मानिसहरूको भीड देखाउन इन्धन वितरण गरिएको पाइएको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै शनिबार सिरहामा एमालेद्वारा आयोजित मोटरसाइकल र्याली तथा जागरण सभामा मान्छे उतार्न इन्धन बाँडिएको हो । सिरहास्थित जयशंकर ट्रेड सेन्टरमा सवारीसाधनमा इन्धन वितरण गर्ने कामको अगुवाइ गर्दै भेटिएका एक एमाले कार्यकर्ताले प्रतिमोटरसाइकललाई तीन लिटर पेट्रोल वितरण गरिएको बताए ।
गाउँ-गाउँबाट मान्छे बोकेर आएका ठूला सवारीसाधनलाई भने १० देखि १५ लिटरसम्म डिजेल तथा पेट्रोल वितरण गरिएको उनले सुनाए । यहाँ मात्र नभई जिल्लाका अन्य पायक पर्ने विभिन्न पेट्रोल पम्पबाट समेत इन्धन वितरण गरिएको थियो । यस कार्यक्रममा सिरहा जिल्लाका १७ वटै स्थानीय तहबाट करिब ८ हजार मोटरसाइकल र १५ हजारभन्दा बढी मान्छे सहभागी भएको एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको दाबी छ ।
कार्यक्रममा सहभागीसमेत रहेका मण्डलले इन्धन बाँडिएको कुरा भने सुरुमा त अस्वीकार गरे । तर, तपाईंहरूले जिल्लामा जितेका स्थानीय तहको सरकारी स्रोतबाट पेट्रोल बाँड्नुभयो भन्ने चर्चा छ नि भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, 'सरकारी रकमबाट होइन, पार्टीले कार्यकर्ताबाटै सहयोग उठाएर इन्धन वितरण गरेको हो ।'
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य लीलानाथ श्रेष्ठसहित प्रदेश र जिल्ला तहका नेताहरू पनि कार्यक्रममा सहभागी थिए ।-कान्तिपुर




