महोत्तरी - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर रिटमाथिको सुनुवाइ स्थगित भएको छ। आइतबारका लागि तोकिएको सुनुवाइ भोलि सोमबारका लागि सरेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ हुने तालिका रहे पनि अन्तरिम आदेश सम्बन्धी बहस भोलिमात्र हुने भएको हो।
यसअघि केही समययता अस्थिर रहेको मधेश प्रदेश सरकारले हाल नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन गरेको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका हुन्।
तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले यादवलाई बर्दिबास–सिन्धुली सिमानास्थित कालापानीमा रहेको पानस होटेलमै पुगेर मुख्यमन्त्री पदको शपथ खुवाएको घटनापछि विवाद चर्किएको हो।
उक्त घटना असंवैधानिक भएको दाबी गर्दै मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। अदालतले त्यस सम्बन्धमा भोलि अन्तिम निर्णय दिने अपेक्षा गरिएको छ।




