महोत्तरी- महोत्तरीमा शितलहर प्रभावित मटिहानी नगरपालिका ४ मझौरा स्थित मुसहर वस्तीका ६० परिवारलाई सैनिक श्रीमती संघ र प्रकौली स्थित रणभिम गणको तर्फबाट राहत स्वरुप खाद्यान्न तथा न्यानो छल्न कम्बल सहयोग गरिएको छ ।
श्री नं. ९ वाहिनीका वाहिनीपति सहायक रथी शिशिर चन्द्र केसीको विशेष उपस्थितिमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
शितलहरले अति प्रभावित वस्तीहरु महोत्तरीमा अझै भएको र सेना तथा सेना परिवारको तर्फबाट यो सानो प्रयासमात्र भएको सहायक रथी केसीले वताए । उनले नेपाली सेनाले शितलहर,वाढी,आगलागी लगायतका सवै विपदको वेला सेना सहयोगीको भुमिका निर्वाह गरिरहेकोमा महोत्तरीमा शितलहर प्रभावितकै लागि गत वर्षहरु झै चिया र दाउरा वितरण लगायतका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले आफ्नै पालिकामा अझै केहि वस्तीका दलित तथा विपन्नहरु प्रभावित रहेकोमा नगरपालिकाकै तर्फबाट र अन्य निकायहरुबाट समेत सहयोगको प्रयास भैरहेको बताए । पालिकामा अधिकांश ग्रामिण वस्ती रहेको र उक्त वस्तीहरुमा दलित तथा विपन्नहरुको संख्या अत्यधिक रहेकोमा क्रमिक रुपमा सवै प्रभावितहरुको लागि सहयोग जुटाउन आफुहरु लागि परेको बताए ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले समेत विपदको वेला हुनेले नहुनेलाई सहयोग गरेर एकअर्काको पुरुकको भुमिका निर्वाह गर्नु पर्ने बताए । तपाई हाम्रो सानो सहयोगले कसैको जिवन नै जोगिन सक्ने भएकोले आफ्नो स्तरबाट शितलहर प्रभावितलाई आवश्यक सहयोग गर्नु पर्ने बताए ।
उनले स्थानिय विपत व्यवस्थापन समितिले स्थानिय तहहरु तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग समन्वय गरि शितलहर प्रभावितहरुलाई राहतको व्यवस्थापनको लागि प्रयास थालिसकेको थपे ।
अझै महोत्तरीका प्राय सवै स्थानिय तहका दलित वस्तीहरुमा वसोवास गरिरहेका अतिविपन्न परिवारहरु परालकै ओछ्यान र परालकै घुरा तापेर चिसो छल्नुको विकल्प छैन । परिवर्तित मौसमले प्रत्यक्ष प्रभाव पारेको वस्तीहरुमा अझै राहतको प्रतिक्षा रहेकोमा नेपाली सेना तथा स्थानिय तह र अन्य सरोकारवाला निकायले उक्त स्थानहरुमा समेत शितलहर प्रभावितहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।