औरही नगरपालिका की कोशिलादेवी आजकाल बजारमा गएर दैनिक १५ सयको समोसा, पानीपुरी, सिंगडा लगायतको खानेकुरा बेच्न थालेकी छन् । उन्को देव्रे खुट्टामा समस्या छ, हिडडुल गर्न त्यति सक्दिनन तर घरमा नै बनाएका खानेकुरा ठेलागाडामा बजारसम्म लैजाने र वेच्ने उन्को दैनिकी नै बनेको छ ।
आर्थिकरुपमा निक्कै कमजोर कोशीलादेविका छोराछोरी साना नै छन् भने श्रीमान् औरहीमा घर बनाउने, ढुंगा बोक्ने काम गर्दछन । श्रीमानको एक्लो कमाईबाट विहानवेलुका खान धौधौ परेपछि कोशिलादेवी कामको नै खोजीमा थिइन् । यत्तिकैमा समृद्व नेपाल बर्दिवासका प्रतिनिधिसँग ६ महिना अगाडी भेट भयो त्यहीँ भेट नै कोशिलादेविको लागि दैनिक ७ सय कमाउने महत्वपूर्ण आधार बनेको छ ।



आड्रा नेपालको आर्थिक सहयोग र समृद्व नेपालको सहजीकरणमा संस्थाले महोत्तरीको भंगाहा, औरही र बर्दिवासमा अपाङ्गता भएकाहरुको लागि स्वरोजगारको योजना ल्याएको थियो । २० हजारबाट व्यावसायिक योजना बनाउने र उनीहरुलाई आर्थिक उपार्जनसँग जोड्ने प्रक्रियाले कोशीलादेवी जस्तै अहिले ७० जना भन्दा बढी आत्मनिर्भर बनेका छन् ।
औरहीमा कोशिलादेवी जस्तै अन्य १४ जना अपाङ्गता भएकाहरु भैसीपालन, बाख्रापालन, चटपटे बनाउने, किराना पशल लगायतका व्यवसाय गरिरहेका छन् । ‘यसले केही काम गर्न सकिदैन भन्ने हिनतालाई हटाउदो रहेछ र आत्मविस्वास बढाउदो रहेछ ।’ औरहीका नै छटु साहले भने ।‘मेरो पनि खुट्टामा समस्या छ । दुई छोरा र एक छोरी छन् । जग्गाजमिन छैन, अहिले किराना पशल गरेदेखि पारिवारिक आर्थिक समस्या समाधान भएको छ ।’
औरहीका नै सुनिल कुमार मण्डल पनि आजकाल निक्कै खुसि छन् । २२ बर्षिय मण्डल किराना पशल संचालन गर्नुभन्दा पहिला सकीनसकी घरको काममा सहायक मिस्त्रीको काम गर्थे । खुट्टामा नै समस्या भएका मण्डलले सपाङ्गको जत्ति काम गर्न नसकेपछि ठेक्केदारले हेप्ने र अपमानित गर्ने गरेको उनीसँग तितो सम्झना छ । बाध्यताका विच काम गर्दै आएका मण्डलले जसोतसो जीविकोपार्जन गरि नै रहेतापनि बैकल्पिक कुनै काम गर्न पाए हुन्थ्यो उन्ले सोचिरहेका थिए ।
यत्तिकैमा समृद्व नेपालको सम्पर्कपछी व्यावसायिक योजनामा लागेका मण्डलले अहिले उन्को जीवनचर्या नै फेरिएको छ । एउटा छोरीलाई निजि स्कुलमा पढाईरहेका छन् भने गाँउमा नै खोलेको किराना पशलबाट ५ देखि ८ हजारसम्म व्यापार हुने र दैनिक १५ सयसम्म आम्दानी गरिरहेको उन्को भनाई छ ।
आँखा नदेख्ने, कान नसुन्ने र परिवारको सहारा बनेका बौद्विक अपाङ्गहरुको लागि समेत संथाले व्यावसायिक योजना बनाएर काम गरिरहेको छ । जसले परिवार र समाजको नै उनीहरुप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भएको समृद्व नेपाल की फिल्ड अधिकृत सुमन चौधरी बताउछिन ।
‘हामीले अपेक्षा गरेभन्दा बढी व्यक्तिगत विकास भईरहेको छ । आत्मविस्वास जगाउने काम गरेका छौ र उदेश्य प्राप्ति भएको छ ।’ उन्ले भनिन । ‘परिवारमा पनि थोरै भएपनि खुसि ल्याएका छौ ।’
अहिले औरहीमा २ सय भन्दा बढी अपाङ्ग र बौद्विक अपाङ्गहरु छन् त्यसमध्ये पालिका र सम्बन्धित वडाको सिफारिसमा १८ जनालाई स्वरोजगार बनाईएको संस्थाले जनाएको छ ।




