महोत्तरी- अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा गौशालामा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी– My Day My Rights’ भन्ने नाराका साथ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे साझेदारी तथा गौशाला नगरपालिकाकाे समन्वयमा सञ्चालन भइरहेको समुन्नति कार्यक्रमअन्तर्गत नगर बाल क्लब संजाल, गौशालाले बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरेको हो।
उक्त प्रतियोगिताको औपचारिक सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगर प्रमुख डा. दिपेन्द्र महतोले बालबालिका कुनै पनि समाजका मूल आधार र भविष्यका वाहक भएको उल्लेख गर्दै स्थानीय तहले बालमैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा निरन्तरता दिइरहेको बताए। “बालमैत्री नगरपालिका निर्माणको यात्रामा शिक्षा, संरक्षण, स्वास्थ्य तथा सहभागितामूलक कार्यक्रमलाई अझ मजबुत बनाउँदै लैजाने हाम्रो लक्ष्य छ,” उनले भने। महतोले सहभागी विद्यार्थीको आत्मविश्वास, अभिव्यक्ति र सिर्जनशीलताको प्रशंसा गर्दै स्थानीय सरकार बालमैत्री वातावरण निर्माणका लागि निरन्तर सहयोगी भई बाधा अवरोध हटाउँदै अवसर विस्तार गर्न प्रतिबद्ध रहेको बताए।
प्रतियोगितामा गौशाला नगरपालिकाभित्रका १० माध्यमिक विद्यालयका २० विद्यार्थी (प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्रा) ले प्रतिस्पर्धा गरेका थिए। सहभागी विद्यालयमा मावि निगौल, मावि त्रिभुवन, मावि फुलकाहा, मावि कान्तिबजार, मावि रामनगर, मावि रजखोर, मावि भन्टाबारी, मावि नवराजपुर, मावि भरतपुर र मावि बेलगाछी रहेका थिए। विद्यार्थीहरूले ‘बालबालिकामा लगानी’, ‘शिक्षाको पहुँच’, ‘नेतृत्व विकास’, ‘बालमैत्री समाज निर्माण’ लगायत विषयमा प्रभावपूर्ण प्रस्तुतिहरू गरेका थिए।
प्रतियोगितामा श्री माध्यमिक विद्यालय निगौलकी चन्द्रिका कुमारी यादव पहिलो भएकी छन्। उनलाई २४ पिस कापी, औजार बक्स, डटपेन प्याकेट र पेन्सिल प्याकेट प्रदान गरिएको थियो। श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारकी रबिना कुमारी साह दोस्रो भएसँगै १८ पिस कापी, औजार बक्स, डटपेन तथा पेन्सिल प्याकेट प्राप्त गरिन्। त्यस्तै, तेस्रो स्थान त्रिभुवन माध्यमिक विद्यालय गौशालाकी रन्जिता कुमारी महतो ले हासिल गर्दै १३ पिस कापी, औजार बक्स, डटपेन तथा पेन्सिल प्याकेट प्राप्त गरेकी हुन्।
बाँकी विद्यार्थीलाई प्रोत्साहनस्वरूप दुई कापी र एक डटपेन वितरण गरिएको कार्यक्रमकी प्रतिनिधि रिंकी श्रेष्ठले जानकारी दिइन्। निर्णायक समिति गोलाप्रथामार्फत नगरपालिका कर्मचारी तथा शिक्षकहरूबाट चयन गरिएको आयोजकले जनाएको छ, जसले कार्यक्रमको पारदर्शिता तथा विश्वसनीयता बढाएको छ।
कार्यक्रम नगर बाल क्लब संजालका उपाध्यक्ष मनिष यादवको अध्यक्षतामा सुरु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोसँगै शिक्षा शाखा प्रमुख, महिला तथा बालबालिका शाखाका प्रतिनिधि तथा विभिन्न शाखाका अधिकारीहरू, साथै सहभागी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।


