धनुषा । ‘लैङ्गिक–मैत्री तथा गुणस्तरीय सार्वजनिक सेवा : सेवाग्राहीको अनुभव’ शीर्षकमा नगराइन नगरपालिका–१ मा आयोजित सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।

लैङ्गिक समानताका लागि सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम युरोपियन युनियन र संयुक्त राष्ट्र संघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा, प्रो पब्लिकको अगुवाइ तथा निड्स नेपाल र सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतसँगको साझेदारीमा सम्पन्न भयो।




शुक्रबार नगराइनस्थित एक माध्यमिक विद्यालयको सभाकक्षमा सम्पन्न सुनुवाइमा स्थानीय महिला, युवा र पुरुष गरी ६० भन्दा बढी सहभागी थिए। कार्यक्रममा नगराइन नगरपालिकाका मेयर विनय यादव, उपमेयर राधा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साह तथा विभिन्न वडाका जनप्रतिनिधिहरू जवाफदेही वक्ताका रूपमा उपस्थित रहे।

कार्यक्रमको सुरुवातमा वडाले सम्पन्न गरेको विकास निर्माण, सेवा प्रवाह तथा आय–व्ययका विवरणहरू सार्वजनिक गरियो। त्यसपछि १२ भन्दा बढी स्थानीयवासी—विशेषतः महिलाहरू—ले योजना छनोटमा सहभागिताको अभाव, दलित तथा किशोरीका लागि बजेट विनियोजन नहुनु, सार्वजनिक सुनुवाइ नियमित नहुनु, कर्मचारी कार्यालयमा उपस्थित नबस्नु, योजना छनोटमा विभेद हुनु तथा सार्वजनिक सूचना व्यवस्थित रूपमा प्रकाशित नहुनुजस्ता मुद्दाहरू खुला रूपमा प्रस्तुत गरे।

उक्त प्रश्नहरूको जवाफ दिँदै मेयर विनय यादवले लैङ्गिक र समावेशी नीतिलाई आधार बनाएर विकास र सेवा प्रवाह भइरहेको उल्लेख गर्दै कमजोरी परेको स्थानमा सुधार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले भ्रष्टाचार देखिएमा जानकारी दिन आग्रह गर्दै नियन्त्रणमा कडाइ गरिने स्पष्ट पारे।

उपमेयर राधा देवी यादवले महिलाहरूले निडर रूपमा प्रश्न राखेकोप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा कमजोरी सच्याउँदै लैङ्गिक–मैत्री सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखिने बताइन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुधिर साहले जनताको समस्या समाधानमा नगरपालिका सदैव तत्पर रहेको उल्लेख गर्दै, सार्वजनिक सुनुवाइ नियमित गर्ने, योजना छनोटमा महिलाको सहभागिता अनिवार्य सुनिश्चित गर्ने तथा आवश्यक बजेट छुट्याउने प्रतिबद्धता जनाए।

कार्यक्रमको अन्त्यमा सार्वजनिक सेवालाई गुणस्तरीय, पारदर्शी, जवाफदेही र लैङ्गिक–मैत्री बनाउने उद्देश्यसहित ५ बुँदे लिखित प्रतिबद्धता सार्वजनिक गरियो।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन प्रो पब्लिक मधेस प्रदेश संयोजक अजय साहले गरेका थिए।






