महोत्तरी- महोत्तरी जिल्लाको औरही नगरपालिका–२ स्थित ऐतिहासिक तथा पौराणिक महत्वको रामजानकी कुटीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको नयाँ मुर्ति स्थापना हुने तयारी पूरा भएको छ। करिब दुई वर्षदेखि खण्डित अवस्थामा रहेको भगवान रामको मुर्ति स्थानीय धार्मिक आस्थामा असर पार्दै आएको थियो।
स्थानीय पत्रकार एबम समाजसेवी धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ले सामाजिक सञ्जालमार्फत खण्डित मुर्तिको जानकारी सार्वजनिक गरेपछि असोक कुमार मण्डलको नेतृत्वमा नयाँ मुर्ति निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरिएको थियो। मधेश प्रदेशका आठै जिल्लाका भक्तजन तथा स्थानीयवासीको सहयोगपछि अभियान सफल भएको आयोजकले जनाएको छ।
अभियानमा नागेन्द्र यादव र नवीन यादवले पनि विशेष भूमिका खेलेका छन्। नागेन्द्र यादवले भने, “हाम्रो आस्था र गौरवसँग जोडिएको पवित्र कुटीलाई अझ भव्य बनाएर धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने हाम्रो इच्छा हो।” समाजसेवी नरेन्द्र यादवले भने, “रामजानकी कुटी हाम्रो सांस्कृतिक र धार्मिक पहिचानको प्रतीक हो। नयाँ मुर्ति स्थापना र कलश शोभा यात्रा धार्मिक आस्था बलियो बनाउने अवसर हो।”
अर्का समाजसेवी दरेश यादवले भने, “स्थानीय सहयोग र भक्तजनको सहभागिताले नयाँ मुर्ति स्थापना गरी धार्मिक आस्था प्रगाढ बनाउन सफल भएका छौँ। सम्पूर्ण औरहीबासीलाई कार्यक्रममा सक्रिय सहभागी हुन अनुरोध गर्दछौँ।”
कुटी परिसरमा तीन दिनसम्म विशेष पूजा–पाठ हुने र मंसिर ९ गते नयाँ मुर्तिको प्राण–प्रतिष्ठा कार्यक्रम आयोजना गरिने बताइएको छ। सो कार्यक्रमअघि मंसिर ७ गते भव्य कलश शोभा यात्रा निकालिनेछ। आयोजक समितिका अनुसार एक हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।




