महोत्तरी - नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोटका लागि सरोज यादवले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।देश जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको अवस्थामा हुने यो महाधिवेशन एमालेभित्र संगठन निर्माणको पुनर्मुल्यांकन र नेतृत्व क्षमताको परिक्षणका रूपमा हेरिएको छ ।
लोकतन्त्र र समाजवादप्रति प्रतिबद्धता व्यक्त गर्दै यादवले पार्टीले अंगीकार गरेको जनताको बहुदलिय जनवाद, मार्क्सवाद–लेलिनवाद र संस्थापकहरूको आदर्शअनुसार अघि बढ्ने आफ्नो अठोट रहेको बताएका छन् ।साढे दुई दशकदेखि संगठनमा सक्रिय यादव विद्यार्थी राजनीतिदेखि उद्योग–व्यवसाय संगठनसम्मको यात्रा तय गरिसकेका छन् ।
उनी हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ (एमाले) का केन्द्रीय सचिव (विदेश विभाग प्रमुख) छन् ।पार्टीभित्र देखिएका असहिष्णुता, गुटगत स्वार्थ र आलोचनात्मक चेतप्रतिको अवरोधलाई सुधार आवश्यक रहेको उनको धारणा छ । महोत्तरी क्षेत्र नम्बर ४ मा करिब १४ हजार ५ सय १० संगठित सदस्य रहेको अवस्थामा आगामी प्रतिनिधि छनोटले संगठनको वास्तविकता पनि उजागर गर्ने उनले बताएका छन् ।
यादवले प्रतिस्पर्धालाई स्वस्थ रूपले अघि बढाइने विश्वास व्यक्त गर्दै पार्टीका सम्पूर्ण नेतृत्व तथा कार्यकर्ताको साथ र समर्थन अपेक्षा गरेका छन् ।




