महोत्तरी – जनता समाजवादी पार्टी, नेपाल अन्तर्गत युवा, विद्यार्थी तथा खेलकुद विभागले समाजवादी युवा संघ नेपालको नयाँ केन्द्रीय तदर्थ समिति गठन गरेको छ।
घोषित समितिअनुसार महोत्तरी जलेश्वर–७ निवासी सौरव शर्मालाई केन्द्रीय सचिवको जिम्मेवारी प्रदान गरिएको छ। युवा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शर्मा यसअघि महोत्तरीमा विभिन्न अभियान तथा कार्यक्रमको संयोजनमा समेत सक्रिय हुँदै आएका थिए।
नियुक्तिपछि सचिव शर्माले संगठनका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै युवालाई राष्ट्रिय राजनीतिक प्रक्रियामा संलग्न गराउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए। “सामाजिक तथा राजनीतिक गतिविधिमा सधैं सक्रिय रहँदै आएको थिएँ। पार्टीले दिएको यो ठूलो जिम्मेवारीलाई गम्भीर रूपमा वहन गर्दै संगठन सुदृढीकरण तथा सामाजिक सेवामा अझ सक्रिय हुनेछु,” उनले भने।
नवगठित तदर्थ समितिमा अध्यक्षमा मनीष यादव, उपाध्यक्षमा चिरन्जीवी कुमार यादव, रेनु सिंह र रविन पाखिन रहेका छन्। महासचिवमा दिपेन्द्र कापडीसहित समितिमा कुल ७९ पदाधिकारी रहेका छन्।


