महोत्तरी – महोत्तरीको औरही नगरपालिका–२ स्थित ऐतिहासिक तथा पौराणिक महत्वको रामजानकी कुटीबाट आइतवार ८ सयभन्दा बढी सहभागीसहित वृहत् शोभा तथा कलश यात्रा निकालिएको छ। करिब दुई वर्षदेखि भगवान रामको मूर्ति खण्डित अवस्थामा रहेपछि स्थानीयको पहलमा नयाँ मूर्ति स्थापना तथा प्राण–प्रतिष्ठाको कार्य सुरु गरिएको हो।

स्थानीय पत्रकार एवं समाजसेवी धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ ले सामाजिक सञ्जालमार्फत खण्डित मुर्तिको जानकारी सार्वजनिक गरेपछि असोक कुमार मण्डलको नेतृत्वमा नयाँ मूर्ति निर्माणका लागि सहयोग संकलन अभियान सुरु गरिएको थियो। मधेश प्रदेशका आठै जिल्लाका भक्तजन तथा स्थानीयवासीको सहयोगपछि अभियान सफल भएको आयोजकले जनाएको छ। अभियानमा नागेन्द्र यादव र नवीन यादवले पनि विशेष भूमिका खेलेका छन्।




स्थानीयवासीबाट चन्दा संकलन गर्दै राम, सीता, लक्ष्मण र हनुमानको नयाँ मूर्ति स्थापना गरिन लागिएको कुटी व्यवस्थापन पक्षले जनाएको छ। सोही कार्यक्रमअन्तर्गत कुटी परिसरमा आजदेखि तीन दिनसम्म विशेष पूजा–पाठ सुरु गरिएको छ। पहिलो दिन वृहत् कलश शोभा यात्राले समारोहको थालनी गरेको थियो।
बिबाह पंचमीको अवसर पारेर आयोजना गरिएको सो शोभा तथा कलश यात्रामा औरहीसहित आसपासका क्षेत्रबाट भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। यात्रापश्चात् मन्दिर परिसरमा आयोजित पूजामा सहभागी भक्तहरूले गाउँ तथा देशको शान्ति–समृद्धिका लागि प्रार्थना गरे।
औरही नगरपालिका–२ का समाजसेवी नरेन्द्र यादवले भने,
स्थानीय एकता र सहयोगको फलस्वरूप आज यो ऐतिहासिक कार्य सम्भव हुँदैछ। अब कुटीको संरक्षण, व्यवस्थापन र प्रचार–प्रसारमा गाउँले सबै मिलेर अघि बढ्नुपर्छ।

स्थानीय पत्रकार एवं समाजसेवी धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ ले धार्मिक सन्देश जोड्दै भने,
भगवान श्रीराम सत्य, नैतिकता र आदर्शका प्रतीक हुन्। नयाँ मूर्ति स्थापना मात्र संरचनागत परिवर्तन होइन, यो यहाँको सांस्कृतिक पुनर्जागरण हो। भक्तिभाव, एकता र धर्मप्रति समर्पणले नै समाजलाई समुन्नत बनाउँछ।
त्यसैगरी, सोही स्थानका अर्को समाजसेवी दरेश यादवले भने,
नयाँ मूर्ति स्थापना हुन लागेकामा हामी सबै अत्यन्तै उत्साहित छौं। रामजानकी कुटी हाम्रो धार्मिक पहिचान हो। यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामी निरन्तर लागिरहनेछौं।
स्थानीयवासीले नयाँ मूर्तिको प्राण–प्रतिष्ठापछि यहाँको धार्मिक महत्त्व झनै वृद्धि हुने र पर्यटनमार्फत आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।






































