महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले आफैले गरेको सुचना तथा नियम विपरित नगरपालिकामै कामकाज गर्ने कर्मचारीलाई शिशु संरक्षकको (धर्मपुत्र) जिम्मेवारी सुम्पेको देखिएको छ ।
यहि असोज २९ गते दिनको सवा एक बजे जलेश्वर नगरपालिका वडानं. २ स्थित भागेश्वर कुटीभन्दा अन्दाजी २० मिटर पश्चिम तर्फ रहेको धान खेतमा नवजात शिशु फेला परेकोमा नगरपालिकाले निजको संरक्षण, पालन पोषण तथा उचित हेरचाहको लागि संरक्षकको सुचना प्रकाशन गरेर नियम विपरित संरक्षकको जिम्मेवारी तोकेको हो ।
जलेश्वर नगरपालिकाको स्थानीय बाल अधिकार समितिको कात्तिक २६ गतेको निर्णय अनुसार सो बालकको जिम्मा जलेश्वर नगरपालिका वडानं. ३ बस्ने नितेश चौधरी र निजको श्रीमती कोमल कुमारी कलवारलाई संयुक्त शिशु संरक्षकको जिम्मेवारी सुम्पेको हो । शिशु संरक्षकको जिम्मेवारी पाउनुभएका नितेश चौधरी जलेश्वर नगरपालिकामा सुचना प्रविधि अधिकृतको रुपमा कामकाज गर्दै आउनुभएको छ ।
नगरपालिकाले शिशु संरक्षकको निर्णय गर्दै मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ८ को दफा १७७ अनुसार निज संरक्षकहरुलाई नियमानुसार प्रक्रिया पुर्याई धर्मपुत्रको लागि सिफारिस गरिदिन महोत्तरी जिल्ला अदालतमा पत्राचार गरेपछि नगरपालिकाको नियम विपरित कामको खुलासा भएको हो ।
बच्चाको हकदावी गर्दै आउनुभएका जलेश्वर नगरपालिका वडानं. ४ सुगाका रामवावु तिवारीले जलेश्वर नगरपालिकाले नियम विपरित शिशु संरक्षकको जिम्मेवारी दिएको बताउनुहुदै गोप्य रुपमा आफ्नै कर्मचारीलाई शिशु दिन निर्णय गरिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘शिशु दावीको लागि आफुले पनि नियमानुसार निवेदन दिएपनि आफुहरुलाई कुनै जानकारी नै नदिई गोप्य रुपमा निर्णय गरिएको छ र अदालतमा प्रमाणिकरणको लागि पठाएको हो ।’
उहाँले शिशु संरक्षकको गोप्य सुचना गरेको थाहा पाएपछि आफुले सो शिशु राख्न पाउने गरि जिल्ला अदालतमा निवेदन दर्ता गराएको बताउनुहुदै नगरपालिकाले नियमानुसार शिशुको संरक्षक तोक्नुपर्ने वताउनुभयो । जिल्ला अदालत महोत्तरीले पनि छानविन नै नगरी नगरपालिकाको निर्णयलाई नै सदर गरेको गुनासो गर्नुहुदै अदालतले नियमानुसार निर्णय गर्नुपर्नेमा त्यस्तो नगरेकोमा चित्त दुखेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाले कात्तिक १७ गते शिशुको संरक्षक हुने इच्छुक व्यक्ति वा परिवारले सम्पर्क गर्ने सम्बन्धी प्रकाशन गरेको सुचनामा आवश्यक कागजातमा समेत प्रष्ट रुपमा विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नभएको दम्पत्ति भनेर उल्लेख गरेपनि आफ्नो कर्मचारीलाई शिशु जिम्मा लगाउन त्यसको विपरित निर्णय गरेको हो । शिशु संरक्षकको जिम्मेवारी पाउनुभएका नितेश र कोमलको विवाहको पाँच वर्ष मात्रै भएको छ ।
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ८ को दफा १७२ को उपदफा (१) को (क र ख) मा समेत विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पत्ति तथा पैतालिस वर्ष उमेर पुरा भएकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरि बसेको छोरा वा छोरी नहुने महिलाले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सकिने व्यवस्था छ । तर नगरपालिकाले सो को उल्टो निर्णय गरेको देखिएको छ ।
त्यसैगरी नगरपालिकाले आफ्नै कर्मचारीलाई शिशुको संरक्षकत्व दिन सुचना अनुसारको गतिविधि समेत नगरेको देखिएको छ । नगरपालिकाले सुचनामा कुनै पनि ठाउँमा शिशुको संरक्षकत्व लिन पालिकाबासी मात्रै हुने उल्लेख नगरि कुनै पनि नेपाली नागरिक हुन सक्ने उल्लेख गरेपनि संरक्षकत्वको निवेदन दिएका पालिका बाहिरका व्यक्तिलाई निषेध गरेका थिए ।
जनकपुर निवासी प्रतिभा मण्डलले मेरो मामा र माईजुको विहेको करिब तिन दशक हुन लाग्दा समेत बच्चा नभएपछि सुचना अनुसार आफुहरुले पनि निवेदन दर्ता गराएको वताउनुहुदै शिशु संरक्षकको जिम्मेवारी पालिकाबासीलाई नै दिने भन्दै पहिलो चरणबाट नै आफुहरुलाई फालेको आरोप लगाउनुहुदै नगरपालिकाले नियम विपरित कामकाज गर्न यस्तो गरेको बताउनुभयो । नगरपालिकाले भनेको सुचना अनुसार हामीहरुको सबै पुग्थ्यो तर नगरपालिकाले मिलेमतो गरेर ‘बाहिरीयाँ’ हौं भनेर बाहिर पठायो ।
शिशुको संरक्षकत्वको जिम्मेवारी लिन नगरपालिकामा १८ जनाको निवेदन परेको थियो जसमा आधा दर्जन पालिकाबासीहरुले समेत निवेदन दर्ता गराएका थिए ।
जलेश्वर नगरपालिकाका महिला, बालबालिका तथा समाज कल्याण (अपाँग) शाखा महिला विकास निरिक्षक तथा बालकल्याण समितिका सदस्य मधु कुमारी साहले समितिले नियम विपरित कामकाज नगरेको बताईन । उहाँले आफुहरुले नियम संगत रुपमा चेकजाँच तथा जाँच पडताल गरेर मात्रै शिशुलाई संरक्षकको जिम्मेवारी दिएको बताउनुहुदै गलत भए अदालतले फैसला गर्ने वताइन ।








