महोत्तरी- मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ।
महोत्तरी र धनुषा जिल्लाका १६ वटा क्रिकेट टोलीहरूको सहभागितामा सम्पन्न यस प्रतियोगिताको फाइनल खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। फाइनलमा जनकपुर उप–महानगरपालिका–१७ कनकपट्टी र औरही गाउँपालिका–३ विक्रमपूर, धनुषाबीच प्रतिस्पर्धा भएको थियो।
खेलमा दमदार प्रदर्शन गर्दै जनकपुर उप–म.न.पा.–१७ कनकपट्टीले औरही गा.पा.–३ विक्रमपूरलाई १०३ रनको विशाल अन्तरले पराजित गर्दै MPL सिजन–१ को उपाधि आफ्नो नाममा लेख्न सफल भएको छ।
समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले विजेता टोलीलाई ट्रफी, नगद पुरस्कार तथा मेडल प्रदान गर्नुभयो। साथै उप–विजेता टोली, उत्कृष्ट खेलाडीहरू, अम्पायर, कमेन्टेटर तथा आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरूलाई टिका र मेडललगायत सम्मान गरिएको थियो।
कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल तथा नेपाली कांग्रेसका नेता बैजनाथ मंडलले उप–विजेता टोलीलाई पुरस्कार वितरण गर्नुभएको थियो।
आयोजक मटिहानी क्रिकेट टिमले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबै प्रति आभार व्यक्त गरेको छ।


