महोत्तरी – सुमित वर्माको अर्धशतकको सहायतामा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल तयार गरेको हो। यससँगै पोखरा यस सिजन टस जितेर ब्याटिङ रोज्ने पहिलो टोली बन्यो।

पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बलमा २ चौका र ४ छक्कासहित ५० रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। त्यस्तै, दिनेश खरेलले ३९ रन, तृतराज दासले २९ रन र एडम रोसिङग्टनले २४ रनको योगदान दिए।
बलिङतर्फ साविक विजेता जनकपुरका सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। कप्तान अनिल शाह र ललित राजवंशीले समान १–१ विकेट हात पारे।


