महोत्तरी- महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरि चोकबाट सशस्त्र प्रहरीले अवैध हातहतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य, सितामढी जिल्लाको पटदौरा ग्राम पञ्चायत–सिराहीपट्टी टोल निवासी २६ वर्षका सरोज कुमार कुर्मी रहेका छन् ।
सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार रात्रिकालीन गस्तीका क्रममा कुर्मी सवार रहेको BR 06 AY 6172 नम्बरको होन्डा साइन मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाइ राखिएको एक थान घरेलु रिभल्भर (कट्टा) तथा एक राउण्ड गोली फेला परेको थियो ।
हातहतियारसहित पक्राउ परेका कुर्मीमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानले उक्त घटना सीमा क्षेत्रमा देखिने अवैध गतिविधिसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।




