जनकपुरधाम - मधेस प्रदेश सरकारले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारका अघिल्ला केही निर्णयहरू खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर र विपद् व्यवस्थापनसम्बन्धी कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
प्रदेश सरकारका २०८२ साउन २३ देखि २०८२ भदौ १९ गतेसम्म बसेका मन्त्रिपरिषद् बैठकबाट भएका सम्पूर्ण निर्णयहरू बदर गरिएका छन् ।साथै २०८२ साउन २३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयबाट भएका नियुक्ति, जिम्मेवारी हस्तान्तरण तथा थप जिम्मेवारी तोक्ने सम्बन्धी निर्णयहरू पनि खारेज गरिएको छ ।
यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव जयकुमार श्रीवास्तवलाई अर्को व्यवस्था नभएसम्म आन्तरिक प्रशासन, आर्थिक अधिकारसहित सचिवस्तरीय जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकता दिने निर्णय गर्दै आउँदो वर्षायाममा डेंगु, झाडापखाला, हैजाजस्ता रोगको नियन्त्रण, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता, साथै आवश्यक थप बजेट व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी बाढी, डुबान, आगलागीलगायत प्राकृतिक विपद्का जोखिम उच्च रहेकाले पूर्वतयारी, खोज, उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन गृह, सञ्चार तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कार्यसमितिलगायत सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिइएको छ ।




