महोत्तरी – गौर हत्याकाण्डमा सर्वोच्च अदालतले छानबिन गर्न दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले शुक्रबार महोत्तरीको रामगोपालपुरमा विरोध प्रदर्शन गरेको छ। जसपाले उक्त आदेशलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक षड्यन्त्रपूर्वक फसाउने प्रयासको हिस्सा भएको आरोप लगाएको छ।

रामगोपालपुर नगर कमिटीको आयोजनामा भएको प्रदर्शनको अध्यक्षता नगर अध्यक्ष विजय यादवले गरेका थिए। सामुदायिक भवन प्रांगणबाट सुरु भएको नारा जुलुस बजार परिक्रमा गर्दै रामगोपालपुर चोकमा पुगेपछि विरोधसभामा परिणत भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर”, “मधेस आन्दोलनको अपमान बन्द गर”, “मधेसको आवाज दबाउने चलखेल बन्द गर” जस्ता नाराबाजी गरेका थिए। जसपाका कार्यकर्ताहरूले सर्वोच्च अदालतको आदेशलाई अन्यायपूर्ण ठहर गर्दै आन्दोलनलाई कमजोर पार्ने खेल भएको दाबी गरेका थिए। विरोधसभामा सम्बोधन गर्दै जसपा मधेस प्रदेश कमिटीका सदस्य राज नारायण यादवले सर्वोच्चको आदेश राजनीतिक पूर्वाग्रहले प्रेरित भएको बताए। उनले भने, “यो आदेश मधेस आन्दोलनलाई कलंकित बनाउने षड्यन्त्र हो, हामी यसलाई अस्वीकार गर्छौं।




आदेश कार्यान्वयन भए मधेसमा ठूलो आन्दोलन चर्किन्छ।” त्यसैगरी, पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवले गौर घटनामा जसपाका शीर्ष नेतामाथि मुछेर मधेसको राजनीतिक नेतृत्वलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। “सत्य तथ्य बेवास्ता गरी अध्यक्षमाथि झुटा आरोप लगाउने प्रयास भइरहेको छ, जुन मधेसले कहिल्यै स्वीकार्ने छैन,” उनले चेतावनी दिए।

नगर अध्यक्ष विजय यादवले मधेसका शहीदहरूको बलिदान र आन्दोलनका उपलब्धिलाई समाप्त गर्ने कुनै पनि कदमविरुद्ध दृढ प्रतिरोध गरिने बताए। विरोध कार्यक्रममा जसपाका जिल्ला, नगर र वडा कार्य समिति, महिला तथा युवा संगठनका पदाधिकारी तथा स्थानीयको बाक्लो उपस्थिति थियो। सहभागीहरूले हातमा प्लेकार्ड बोकेका र पार्टीका झण्डा फहराएका थिए।

गौरमा २०६३ साल चैत २३ गते भएको घटनामा २७ जनाको ज्यान गएको थियो। पीडित पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले हालै छानबिनको आदेश दिएको हो। तर जसपाले यसलाई अध्यक्ष उपेन्द्र यादवविरुद्धको योजनाबद्ध षड्यन्त्रका रूपमा लिएको छ।







