महोत्तरी — आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. २ बाट किरण यादवको नाम एकल र सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।
पार्टीको महोत्तरी क्षेत्र नं. २ क्षेत्रीय समितिको बैठकले यादवलाई योग्य र सक्षम उम्मेदवारका रूपमा अघि सार्दै सर्वसम्मत निर्णय गरेको हो। राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै स्थानीय तथा राष्ट्रिय मुद्दामा प्रखर विचार राख्दै आएकी यादवको नाम एकल रूपमा सिफारिस भएपछि पार्टी संगठन तथा क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएको छ।

मधेशप्रतिको ममत्व, क्षेत्रको समग्र विकास र महिलाका अधिकारका सवालमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी यादवलाई पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेदवार ठहर गरेको जनाएको छ।

नाम सिफारिसपछि प्रतिक्रिया दिँदै नेतृ यादवले पार्टी संगठनले देखाएको विश्वासप्रति कृतज्ञता व्यक्त गरिन्। उनले इमानदार रूपमा सर्वसाधारण जनताका मुद्दा उठाउने र जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यसअघि प्रतिनिधिसभा सदस्य भई जनसेवामा सक्रिय भइसकेकी यादव हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुखका रूपमा कार्यरत छिन्। आसन्न निर्वाचनमा क्षेत्र नं. २ को प्रतिनिधित्व गर्न पार्टीले उनलाई सर्वसम्मत रूपमा अघि सारेको हो।





