मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मधेशमा दिनानु दिन बढ्दै गएको महिला विरुद्धको लैंगिक हिंसा न्यूनीकरणका लागि कठोर कानुनी कारवाही र व्यापक सचेतनाको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कर्णले मधेश समाजमा महिला हिंसा, बालविवाह, दाइजो प्रथा र विभेद जस्ता ‘सामाजिक निकृष्ट रोग’ आज पनि गहिरोसँग जरा गाडेर बसेको उल्लेख गरे । उनले भने, “अहिले पनि हाम्रो समाजमा सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार महिलामाथि हुने हिंसा, बालविवाह, दाइजो प्रथा र सामाजिक विभेदले चुनौती दिइरहेको छ। यी समस्याको न्यूनिकरणका लागि कठोर कानुन र दण्ड–कारबाहीका साथै व्यापक सचेतना अभियान आवश्यक छ ।” उनका अनुसार मानवअधिकार कुनै एक समूह वा व्यक्तिसँग मात्र सम्बन्धित विषय नभई सम्पूर्ण व्यक्ति, परिवार र समुदायसँग जोडिएको विषय भएकाले सबै क्षेत्रको सक्रिय भूमिका अपरिहार्य छ।
प्रदेश प्रमुखले मधेशमा मानवअधिकार विरोधी घटनाहरू बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै “यसप्रति समाज, सरकार र संस्थाहरू सबैले गम्भीर र सजग हुनुपर्छ” भने । कार्यक्रममा सहभागी पिपुल इन नीडका प्रदेश परियोजना व्यवस्थापक सुनिल साहले मधेश प्रदेशमा महिलाविरुद्धका हिंसामा वृद्धि हुनुको प्रमुख कारण आवश्यक सचेतनाको अभाव रहेको बताए ।
उनका अनुसार पहिले पनि घटना हुन्थे तर धेरैजसो घटना दर्ता नहुने, पीडितले बोल्न नपाउने अवस्था थियो । तर अहिले व्यक्तिमा सचेतना र जागरुकता आएपछि घटना दर्ता हुँदा संख्या बढेको देखिएको हो । साहले भने, “अब मानिसहरू जागरूक भएका छन्। घटना हुनेबित्तिकै दर्ता भइरहेको छ।
सामाजिक सञ्जालले पनि घटनालाई सार्वजनिक र तथ्याङ्कीय रूपमा बढाएर देखाएको छ । त्यसैले सामाजिक सञ्जालको सही प्रयोगबारे विशेषगरी युवामाझ गहिरो जागरुकता आवश्यक छ ।” ‘मधेश प्रदेशमा मानवअधिकार रक्षकहरूको अवस्था र चुनौती’ शीर्षकमा आयोजित उक्त संवाद कार्यक्रममा प्रदेशभरका विभिन्न गैरसरकारी संस्था, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालयद्वारा मैथिली विकास भवन परिसरमा आयोजित दुई दिने लैंगिक हिंसाविरुद्धको कार्यक्रम अन्तर्गत प्रदर्शनी, सचेतनामूलक स्टल, अन्तरक्रियात्मक सत्र तथा विभिन्न संवेदनशील विषयमा बहस–संवाद पनि गरिएको छ ।




