जनकपुरधाम । प्राकृतिक विपद्का कारण यो वर्ष मधेसमा खाद्यान्न उत्पादन घटेको छ । गत कात्तिकमा आएको अविरल वर्षाका कारण धान, तरकारी बालीमा क्षति भोगेको मधेसले त्यसअघि असार–साउनमा वर्षा नहुँदा धान रोपाइँमा असर झेलेको थियो ।
प्राकृतिक विपद् प्रभावित किसानले सरकारबाट राहत पाउन नसकेको गुनासो गरेका छन् । महोत्तरीका किसान राजकुमार मण्डलले भने, ‘धान पाकिसकेको थियो, भित्र्याउने तयारीमै थियौँ । पानी परेपछि खेतमै लडेर बिग्रियो । यो वर्ष कसरी गुजारा चलाउने हो ? थाहा छैन ।’
बेमौसमी वर्षाले धानसँगै तरकारी, दलहन, तेलहन र आलुजस्ता नगदे बालीमा पनि ठुलो क्षति भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । सो कार्यालयका प्रवक्ता अविरल महतोका अनुसार ४० हजार ३२१ हेक्टर धान खेतीयोग्य जमिनमध्ये खडेरीका कारण ३० हजार हेक्टरमा मात्र रोपाइँ भएको थियो । त्यसमा पनि धान भित्र्याउने समयमा आएको वर्षाले धान बालीमा ठुलो क्षति भएको कार्यालयले जनाएको छ ।
गत वर्ष महोत्तरीमा १ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २०–२५ प्रतिशतले उत्पादन कम हुने अनुमान गरिएको छ ।
महोत्तरीकै अर्का किसान धर्मनाथ यादवले सरकारबाट राहत पाउन नसकेको गुनासो गरे । ‘सरकारले राहत दिन्छ भनेको सुनेका हुँ,’ उनले भने, ‘तर कहाँ छ त्यो राहत ? कहिले आउँछ ? हामीले अहिलेसम्म पत्तो पाउन सकेका छैनौँ ।’ किसानहरूले तत्काल क्षतिको मूल्याङ्कन, राहत प्याकेज, बिउ–बिजन सहयोग र राहत कर्जा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत रोविन बस्नेतले संघीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणापछि मधेस प्रदेशका किसानलाई क्षतिपूर्ति बमोजिम राहत उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् ।
अधिकृत बस्नेतले शुक्रबार संघीय सरकारले किसानलाई क्षतिपूर्ति दिने घोषणा गरे पनि आवश्यक बजेट अभावमा रकम उपलब्ध गराउन नसकेको बताए । उनले भने, ‘मधेस प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसमा मधेस प्रदेशका आठ वटै जिल्लाका ज्ञान केन्द्रमार्फत सिँचाइका लागि सूचना जारी गरिएको थियो, तर बजेटको सीमितता र माग संख्याभन्दा धेरै आवेदन आएकाले प्रक्रिया नै रोक्नु परेको छ ।’
उनले तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको, तर तोकिएको समय बितिसकेकाले आवेदनमाथि विचार विमर्शका लागि मन्त्रालयबाट थप निर्णय हुने प्रस्ट पारे ।
मधेस प्रदेशमा आर्थिक वर्ष २०८२/०८२ मा ३ लाख १९ हजार ६२६ हेक्टरमा धान खेती भएको बताउँदै उनले सुक्खाकै कारण विगतका वर्षको तुलनामा यस वर्ष कम क्षेत्रफलमा धान लगाइएको जानकारी दिए ।
गत कात्तिक १३ देखि १५ गतेसम्म मधेस प्रदेशमा अविरल वर्षाबाट मधेस प्रदेशको कृषि क्षेत्रमा २४ करोड २२ लाख ७३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सप्तरीमा २०.७५ मेट्रिक टन धानमा क्षति भएको छ । यस्तै, सिरहामा ६२.४०, धनुषामा १७१.६०, महोत्तरीमा २४९.६०, सर्लाहीमा २४९.६०, रौतहटमा २६५.२०, बारामा १८७.२० र पर्सामा ९३.६० मेट्रिक टन धानमा क्षति भएको छ ।
यस्तै तरकारी बालीतर्फ सप्तरीमा ६७.५० मेट्रिक टन, सिरहामा १०८, धनुषामा ७४२.५०, महोत्तरीमा एक हजार ३२३, सर्लाहीमा एक हजार २१५, रौतहटमा ४०५, बारामा एक हजार २१५ र पर्सामा १३५ मेट्रिक टन क्षति भएको छ ।
यसैगरी सप्तरीमा १३२ मेट्रिक टन केरा, महोत्तरीमा ९०० मेट्रिक टन उखु नष्ट भएको मन्त्रालयले जनाएको छ । सर्लाहीमा एक हजार १२५ मेट्रिक टन, बारामा एक हजार ३५ मेट्रिक टन उखुसमेत वर्षाले नष्ट भएको मन्त्रालयले जनाएको छ ।




