जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त हुनुभएको आठ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
मुख्यमन्त्रीसहित अन्य तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ खाएको ६ दिनपछि शुक्रबार पहिलोपटक बसेको ६ दलिय सत्ता गठबन्धनको बैठकमा मन्त्री मण्डल विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भए पनि विना निष्कर्ष टुंगिएको छ ।
एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै पुसको पहिलो साताभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने सिट संख्याको आधारमा मन्त्रालयको बाँडफाँड गर्ने विषयमा छलफल भएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धन दलहरू एकमत रहेको र केही दिनपछि बस्ने अर्को बैठकबाट मन्त्रालय बाँडफाँडको टुंगो लाग्ने जनमत पार्टी संसदीय दलका नेतासमेत रहनु भएका अर्थ मन्त्री महेशप्रसाद यादवले दाबी गर्नुभयो ।
गत मंसिर २१ गते एक भव्य समारोहका बीच मुख्यमन्त्री कांग्रेसको तर्फबाट कृष्णप्रसाद यादव, अर्थमन्त्रीमा जनमतका महेशप्रसाद यादवसँगै विना विभागीय मन्त्रीको सपथ खानु भएका कांग्रेसकै खोभारी राय यादव र नेकपा समाजवादीका कनिश पटेलले पनि अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छैन ।
सबभन्दा ठूलो दलको हैसियतले महोत्तरीको एक होटलमा सपथ खाएर विवादित बन्नु भएका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत नपाउने देखेपछि प्रदेश सभाको बैठकमा नै राजीनामा दिने घोषणा गरेपछि सर्वोच्च अदालतको फैसलाअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले बाहेकका सात दलको सहमतिमा कृष्णप्रसाद यादव मधेश प्रदेशको छैटाैं मुख्यमन्त्रीमा नियुक्ति हुनु भएको हो ।




