जनकपुरधाम । मधेश प्रदेशसभामा रिक्त सभामुख पदपूर्तिको प्रक्रिया अगाडि बढाउन प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
बैठकबाट सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव अनुमोदन गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिने प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएसँगै सभामुख चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले सभामुख निर्वाचनकै उद्देश्यले बैठक बोलाइएको स्पष्ट पार्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिएको खण्डमा प्रदेशसभा नियमित रूपमा सञ्चालन हुने र अन्यथा बैठक स्थगित हुन सक्ने बताए ।
यसअघि गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको ठहरसहित दुई तिहाइ बहुमतबाट पारित प्रस्तावका आधारमा पदमुक्त भएका थिए । त्यसयता सभामुख पद रिक्त छ ।
हाल मधेश प्रदेश सरकारमा सात दल सहभागी छन् । गठबन्धनभित्र नेपाली कांग्रेसले मुख्यमन्त्रीको जिम्मेवारी पाएको छ भने दोस्रो ठूलो दल जसपा नेपालले सभामुख पदमा दाबी गर्दै आएको छ ।
सभामुख चयनसँगै प्रदेशसभाको कामकारबाहीले गति लिने विश्वास लिइएको छ ।




