महोत्तरी- जलेश्वर कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये करिब आधा बन्दी अझै फरार छन् । गत भदौ २४ गते साँझ जेनजीको आन्दोलनका क्रममा जलेश्वर कारागारमा रहेका ५७५ कैदीबन्दी भागेका थिए । भदौ २४ गते साँझ ७ बजे लाठीसहित आन्दोलनकारी आएपछि कैदीबन्दीसमेत पर्खाल भत्काउँदै भागेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले अहिलेसम्म पनि जिल्ला कारागारमा २६९ जना कैदीबन्दी नफर्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूलाई फरार सूचीमा राखेर खोजी भइरहेको छ ।” उहाँले कारागारबाट भागेका कैदीबन्दीमध्ये अन्य कारागारमा दुई जना, कारागार प्रशासनले फर्किन आग्रह गरेपछि २५७ जना तथा सुरक्षाकर्मीले पक्राउ गरेको ४७ जना कैदीबन्दी गरी ३०६ जना कैदीबन्दी कारागारमा फिर्ता भएको जानकारी दिनुभयो । उहाँले अब पक्राउ पर्नेलाई कारागार ऐनको फरार कैदी अनुसारको सजाय थप गरिने जनाइएको छ ।
यसैबिच प्रहरीले जिल्ला अदालतले गरेको फैसला कार्यान्वयन गर्न विभिन्न मितिका फरार १७२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । गत साउनदेखि मङ्सिरसम्ममा फौजदारी र देवानी दुवैतर्फका १७२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टले बताउनुभयो ।




