मधेश प्रदेश सभाको रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते आइतबार निर्वाचन हुने भएको छ ।
प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ अनुसार उपसभामुखले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
कार्यक्रम अनुसार सभामुख पदमा उम्मेदवारी दिन चाहने प्रदेश सभा सदस्यहरूले पुस ५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्ताव र समर्थनसहित उम्मेदवारी दर्ता गराउनु पर्ने समयतालिका सार्वजनिक गरिएको छ । सोही दिन दिउँसो साढे ३ बजे दर्ता क्रमानुसार प्रकाशन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाका सचिव बासु प्रसाद कोइरालाका अनुसार प्रस्तावित उम्मेदवारले आफ्नो एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ । सभामुख पद केही सातादेखि रिक्त रहँदै आएको अवस्थामा निर्वाचन कार्यक्रम सार्वजनिक भएसंगै मधेश प्रदेश सभामा नयाँ नेतृत्व चयनको बाटो खुलेको छ ।
यता सात दलीय गठबन्धनमा मुख्यमन्त्री कांग्रेसले पाएपछि सभामुख जसपा नेपालले पाएको छ । जसपा नेपालले निर्णय गरेपछि सोही अनुसार सात दलीय गठबन्धनको समर्थन रहने छ । त्यस्तै एमालेले पनि सभामुख पदमा उम्मेदवारी दिने बढी सम्भावना रहेका स्रोतले दाबी गरेको छ । तर कसलाई उठाउने भन्नेमा अहिले बैठक बस्न नसकेको बताइएको छ ।




