महोत्तरी - महोत्तरीको गौशालास्थित रजखोरका मगर समुदाय आजकल हरेक दिन छलफल र बैठकमा जुट्छन् । उनीहरूको छलफलको विषय हो, एक–डेढ हप्तादेखि पुख्र्यौली पेसा र रोजगारी बन्द भएपछि भविष्यको विषयमा मन्थन ।
रजखोरका बुढाबूढीदेखि तन्नेरीहरूको अनुहारमा कुनै चमक छैन, मलिन अनुहारमा पनि स्पष्ट त्रास देखिन्छ । हप्ता दिनअघि प्रहरीको सूचना टाँसिएपछि पुख्र्यौली पेसाकै रूपमा वर्षौंदेखि अँगाल्दै आएको रक्सी र छ्यांग बनाउने काम उनीहरूले छाडेका छन् । केही सञ्चारकर्मीहरू रजखोरको त्यो मगर बस्तीमा पुग्दा ७० वर्षीय किसुन बुर्जामगरले हामीलाई देखेपछि त्रसित मुद्रामा भनिन्, ‘कि हामीलाई काम दिनुप¥यो नत्र पुर्खौली पेसा गर्न पाउने स्वतन्त्रता । राज्यले कुनै विकल्पबिना हामीलाई भोकै मार्न पाउँदैन ।’
साता दिनदेखि यो समुदायको खुसी हराउनुको मुख्य कारण पनि यही हो । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरीहरू बस्तीमा पुगेर मगर समुदायलाई रक्सी र छ्याङ नबनाउन सूचना जारी गरेपछि बिहान–बेलुका हातमुख जोडने पिरलोले उनीहरूलाई सताइरहेको छ । त्यसैले उनीहरू दिनँहु जम्मा हुन्छन् अनि कहिले जनप्रतिनिधिहरूलाई हारगुहार गर्छन् त कहिले स्थानीय युवा तथा राजनीतिकर्मीलाई सहयोग गर्न अपिल गर्छन् ।
‘बाबुबाजेले हामीलाई यही गरिखाउ भनेर सिकाए । अरू काम गर्नका लागि हाम्रो समुदायसँग कुनै सीप छैन । अनि सरकारले धरपकड गर्न खोज्छ भने हामी कहाँ जाउँ ?’ स्थानीय श्याम लामाले प्रतिप्रश्न गर्दै भने । ‘अब सरकारले नै हामीलाई वैकल्पिक रोजगारको व्यवस्थापन गरिदेओस् यो गर्न जरुरत नै छैन नी !’कुल ४२ परिवार बस्ने यो गाउँमा श्याम मात्र लामा थरका हुन् । यहाँ अधिकांश बुर्जामगर छन् । जग्गाको नाममा छँदै छैन भने हुन्छ । थोरै घडेरीमा २–४ वटाबाहेक सबै फुसका घर छन् । घरेलु मदिरा उत्पादन गर्ने र बजारसम्म लगेर बेच्ने यहाँको समुदायको दैनिकी हो ।
‘खेती किसानी गरौँ भने पनि जग्गा छैन । पशुपालन गरौँ भने घाँस काटने ठाउँ छैन । रोजगारी केही गरौँ भने त्यस्तो अवसर छैन,’ अर्की स्थानीय रेनुका बुर्जामगरले भक्कानिँदै भनिन् । ‘अब प्रहरीले बन्द गर्ने धम्की दिइरहेको छ । यदि बन्द ग¥यो भने त न छोराछोरी पढाउन पैसा हुन्छ, न त बिहान–बेलुका छाक टार्न नै । अब हामीलाई भोकै मार्न खोजिएको हो कि !’
अर्कोतर्फ मदिरा तामाङ, मगर जातिको परम्परा र संस्कारसँगै जोडिएको छ । उनीहरू मदिरालाई सगुनको रूपमा चढाउने गर्दछन् । ‘हाम्रो त विवाह वा जुनसुकै उत्सवमा मदिरा अनिवार्य नै हो । यस्ता उत्सवमा मदिरा प्रयोग गरिएन वा सगुनको रूपमा नचढाए भगवान् रिसाउँछन् भन्ने मान्यता छ,’ स्थानीय अलैँची लामाले भनिन्, ‘हाम्रो संस्कार र संस्कृतिमाथि हमला गर्ने अधिकार पनि त सरकारलाई नहोला ।’
तन्नेरीहरू गाउँमा भेटिँदैनन् । पढेलेखेकाहरू काठमाडाँै लगायतका सहरहरूमा पढ्ने र काम गर्ने सिलसिलामा बाहिर छन् । नवपुस्ताहरूले फरक पेसा अवलम्बन गर्न खोजेपछि कतिपय अभिभावकहरूले घरेलु मदिरा बनाउने पेसा विस्थापित हुने आँकलन पनि गरेका छन् ।
पसलभरी राखिएका सिलबन्द मदिरालाई खुलेआम बेच्न पाउनुचाहिँ वैधानिक हुने तर आफैँले बनाएको स्थानीय उत्पादनचाहिँ कसरी अवैध भयो ? यहाँका अधिकांशको साझा प्रश्न छ ।
त्यसो त रजखोरमा घरेलु भट्टीहरू बन्द गराउने नाममा प्रहरी र स्थानीयबीच कैयाँैपटक झडप भएको छ । मदिरा बनाउन प्रयोग हुने भाँडाकँुडा खोसाखोस हुँदा धेरै घाइते भएको गाउँलेहरूले अझै बिर्सन सकेका छैनन् । ‘प्रहरीले अहिले त सूचना मात्र दिएको छ पहिले त सिधा आउँथ्यो अनि सबै भाँडाकुँडा लिएर जान्थ्यो,’ स्थानीय तिल्की बलाम्पाकीले भनिन्, ‘कैयौँपटक खोसाखोस हुँदा प्रहरी रित्तै पनि फर्किएको छ यसपालि पनि जे पर्ला, पर्ला तयारी नै बस्छौँ । के गर्ने भनेर सल्लाह गर्दै छौँ ।’ सरकारले अन्य पेसाको सुनिश्चितता गरे पुख्र्यौली पेसा छाडन तयार रहेको पनि उनीहरूको भनाइ छ ।
खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाले घरेलु मदिराको ब्रान्डिङ गर्दै गुणस्तरीय उत्पादन बजारमा पठाएको छ । यसैगरी गण्डकी प्रदेशले घरेलु मदिरा उत्पादनलाई वैधता प्रदान गर्न कानुन नै बनाउन थालेको छ । यसै गरी यहाँको स्थानीय सरकारले रजखोरवासीको पुख्र्यौली पेसालाई सम्बर्धन गर्न सघाउनुपर्ने स्थानीयको माग छ ।
घरेलु मदिरा उत्पादन र बिक्रीवितरणलाई कानुनले निषेध गरेको हुनाले प्रहरीले भने कानुनअनुसार एक्सन लिन सक्ने जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्ब शर्मा बताउँछन् ।
रजखोरका ४२ घरधुरीमध्ये सबै घरपरिवारले मदिरा उत्पादन मात्र होइन वैकल्पिक पेसामा समेत स्थापित भएको बताउँदै सचेतना कार्यक्रमहरूको माध्यमबाट यसलाई न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय उत्पादन, सीप र परम्परागत पेसाको संरक्षण र प्रोत्साहन गर्न आवश्यक छ – गिरिराजमणि पोखरेल, पूर्वमन्त्री

‘अब यो विषयमा सरकार फराकिलो हुन आवश्यक छ । स्थानीय उत्पादन, स्थानीय सीप, परम्परागत पेसाहरूको संरक्षण र प्रोत्साहन गर्न सकियो भने मात्र हामी समाजवादको यात्रामा अगाडि बढ्न सक्छौँ । मगर, तामाङ, सुनुवार, नेवारजस्ता जनजाति समुदायको घरेलु मदिरा संस्कारसँग जोडिएको छ भने कतिपय समुदायले त जीविकोपार्जनको आधार पनि यसैलाई बनाएका छन् । रजखोरमा बसोबास गर्ने समुदाय यसैको प्रतिबिम्ब हो ।
घरेलु मदिरा उत्पादनलाई गण्डकी प्रदेशले वैधता प्रदान गर्ने प्रक्रियामा अगाडि बढिसकेको छ यसैलाई सबैले सिक्नुपर्छ । अझ स्थानीय सरकारले त यस्तै पेसालाई संरक्षण गरेर आर्थिक उपार्जनका दृष्टिकोणले महत्वपूर्ण आधार बनाउन सक्छन् । हामीले अब यस्ता विषयहरूमा बहस र छलफलका माध्यमबाट उपयुक्त निष्कर्ष निकाल्ने समय पनि आइसकेको छ । पुस्तान्तरण हुँदै आएको यस्ता पेसालाई उन्मूलन गर्ने भन्ने विषय दुर्भाग्य हो तर यस्ता समुदायलाई पेसाबाट विस्थापन नै गराउने हो भने पनि पुनः स्थापित गराउने माध्यम खोज्नुपर्छ ।
स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धिमा जोड दिन्छौँ – रामप्रीत महतो, प्रवक्ता गौशाला नगरपालिका

‘स्थानीय सरकारले यो विषयमा सोच्नुपर्छ । गण्डकी प्रदेशले वैधता प्रदान गर्ने निर्णय गरिरहेको बेला रजखोर मात्र होइन नगरको अन्य जनजाति समुदायको यो पेसालाई संरक्षण र ब्रान्डिङ गर्ने विषयमा पनि गम्भीर हुन आवश्यक छ । यो विषयमा हामी छलफल गर्छौं । पुख्र्यौली पेसाहरू संरक्षण र प्रोत्साहन गर्न सकियो भने एकातिर आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्छ भने अर्कोतिर मौलिक उत्पादनले पर्यटकीय प्रवद्र्धनसमेत हुन सक्छ । त्यसैले हामी यो विषयलाई नगर कार्यपालिकाको बैठकमा पनि एजेन्डा बनाउने छौँ । रजखोर मात्र होइन नगरको अन्य ठाउँहरूमा पनि समुदायलाई मौलिक र परम्परागत सीपलाई प्रोत्साहन गरेर उपयोग गर्ने दिशामा अगाडि बढ्नुपर्छ ।
वास्तवमै हामीलाई स्थानीय सरकार सञ्चालन ऐनमा पनि फराकिलो ढंगले अधिकार क्षेत्र प्रदान गरेको छ । स्थानीय तहको समृद्धीका लागि यस्ता विषयहरूमा गम्भीर ढंगले लाग्नुपर्छ भन्ने नै मेरो बुझाइ हो । जहाँसम्म तपार्इंले मेरो पालिकाको विषयमा कुरा गर्नुभयो उहाँहरूको परम्परागत पेसामा कसैले हस्तक्षेप गर्न हुँदैन । बरु खाद्य गुणस्तर परीक्षण गरेर प्रोत्साहन गर्दै जानुपर्छ भन्ने मेरो निष्कर्ष हो ।’
सरकारले वैधता प्रदान गरे हामीले सहयोग गर्नुपर्छ – हेरम्ब शर्मा, प्रहरी उपरीक्षक

‘अब कानुनले वर्जित गरेको विषयमा हामीले स्वभाविकरूपमा एक्सन लिन्छौँ । त्यसमा कुनै दुईमत छैन । तर पुस्तान्तरण हुँदै आएको यो पेसाको विषयमा स्थानीय सरकारले पनि सोच्नु पर्ला वा रोजगार सुनिश्चितता गर्न पनि सक्ला । हामीले भन्नेचाहिँ के हो भने यो कानुन विपरीत हो अब यो समुदायले कानुनको परिपालना गर्नुपर्छ । कानुनको सम्मान सबैले गर्नुपर्छ । भोलि सरकारले यो पेसालाई प्रवद्र्धन गर्ने निर्णय गर्यो भने हामी कार्यान्वयन गराउन लागि हाल्छौँ नि । रजखोर समुदायको विषयमा पनि प्रहरीले तुरुन्त कसैलाई एक्सन लिएको छैन । तर कानुनीरूपमा सचेत गराउनु पनि प्रहरीको कर्तब्य हो । वास्तवमा नै अहिले देशैभरी गाँजादेखि घरेलु मदिराका विषयमा बहसहरू भएका छन् । भोलि सरकारले आवश्यकता महसुस गरेको खण्डमा त्यहीअनुसार ऐन पनि नबन्ला भन्न सकिँदैन ।’




