महोत्तरी – महोत्तरीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका–८ पाचतल्ले निवासी दिल बहादुर राना मगरका दुई वर्षीय छोरा हिरा बहादुर राना मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




औरही नगरपालिका–२ औरही स्थित हरि नारायण यादवको न्यू बाबा फिक्स इँटा उद्योगको चिम्नी निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट टोली घटनास्थल पुगेको थियो।

त्यसैगरी इलाका प्रहरी कार्यालय गौशालाबाट मुचुल्का टोली पनि घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाउने कार्य गरिरहेको छ। महोत्तरी प्रहरीका प्रवक्ता शैलेन्द्र भट्टका अनुसार बालकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि सुरक्षित राखिएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






