धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अगामी वैशाख ३० बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
मुख्यमन्त्री यादवले आज जनकपुरधाममा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै आफूसँग चार दलको समर्थन कायम रहेकाले सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभयो ।



उहाँले नेपाली काँग्रेससहित सत्तारुढ ४ दलको आज जनकपुरधाममा बसेको बैठकले बुधवारका लागि विश्वासको मत लिने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जयनुल राइनका तर्फबाट रानी शर्मा तिवारी सहभागी हुनुहुन्थ्यो।

यसअघि जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मधेश प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकारबाट भने बाहिरिएको छैन। सो पार्टीबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा सरकारमा सहभागी हुनुहुन्छ।
हाल १०२ सदस्यीय कायम रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्याउन ५२ जना सदस्य आवश्यक पर्छ। वर्तमान मुख्यमन्त्री यादवलाई सरकारमा सहभागी नेपाली कांग्रेसका २२, जसपा नेपालका १७, नेकपाका १५ र लोसपा नेपालका ८ गरी ६२ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
मधेश प्रदेशका चार दलको आज बसेको बैठकले वर्तमान सरकारलाई अझै राम्रोसँग सञ्चालन गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।




