जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुख पदका लागि सात दलीय गठबन्धनका साझा उम्मेदवार रामअशिष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयमा दिउँसो करिब १ बजे यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक रहेका छन् ।
सभामुख उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले सर्वसम्मत रूपमा यादवलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
गठबन्धनले प्रदेश सभामा स्थायित्व, सहकार्य र निष्पक्ष संसदीय अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित अनुभवी नेतालाई अघि सारेको जनाएको छ ।
गठबन्धनका एक नेताका अनुसार, ‘सभामुख पद संसद्को मर्यादा र निष्पक्षताको प्रतीक भएकाले सबै दलसँग संवाद गर्न सक्ने, संसदीय प्रक्रिया बुझ्ने र अनुभवी व्यक्तिलाई उम्मेदवार बनाइएको हो ।’
यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि पद रिक्त हुँदा प्रदेश सभाको नियमित कामकारबाही प्रभावित हुँदै आएको थियो । नयाँ सभामुख चयनसँगै सभाको कार्यसूची पुनः नियमित हुने विश्वास गरिएको छ ।
मधेश प्रदेश राजनीतिमा अनुभवी मानिने यादवले यसअघि पनि प्रमुख सचेतकका रूपमा विभिन्न विधेयक, प्रस्ताव र संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । प्रदेश सभामा सात दलीय गठबन्धनको स्पष्ट बहुमत रहेकाले यादवको निर्वाचन लगभग सुनिश्चित देखिएको छ ।
निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी दर्तापछि सभामुख चयनका लागि मतदान प्रक्रिया अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।




