
सुनिता बराल
महोत्तरी — सिरहा बस्तीपुरका बिन्दुकुमार साहले २०६२ सालमा विदेश जान स्थानीय साहुसँग सापटी लिए । उनले रामु साहबाट ९० हजार लिएका थिए । त्यसबापत ५ कट्ठा ८ धुर जग्गा दृष्टिबन्धक राखेका थिए । मलेसिया गएका उनी ४ वर्षपछि फर्किए ।
ऋण तिरेर जग्गा फिर्ता लिन साहुकोमा गए । तर, साहुले जग्गा अरूलाई नै बेचिसकेको भन्दै फिर्ता दिन मानेनन् । गाउँ पञ्चायतमा पनि रामुले त्यतिबेलै जग्गा किनेको भन्दै फिर्ता गर्न मानेनन् । मिटरब्याजीको पासोमा परेका बिन्दुकुमार अहिले आफ्नो २ करोड बराबरको सम्पत्ति साहुले कब्जा गरेको भन्दै न्यायका लागि आन्दोलनमा छन् ।
महोत्तरीको गौशाला–९ विषहरपुरकी सविता सिंहले ५ वर्ष पहिले गाउँकै लालवती सिंहसँग १ लाख ७५ हजार रुपैयाँ ऋण लिइन् । आफ्नो नाममा जग्गा नभएकाले सासू सीता सिंहको नाममा रहेको ८ कट्ठा जग्गा दृष्टिबन्धक राखेकी थिइन् । उनले साहुलाई ५ लाख रुपैयाँ फर्काइन् तर पनि लालवतीले जग्गा आफ्नो नाममा पारिसकेकी छन् । त्यति मात्र नभई ऋण नतिरेको भन्दै अदालतमा मुद्दा दिएपछि आफ्नो ६० वर्षकी सासूलाई अदालतले पक्राउ पुर्जी जारी गरेको उनले गुनासो पोखिन् ।
महोत्तरीको बर्दिवासमा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको बृहत् नागरिक आन्दोलनअन्तर्गत आयोजित भेलामा पीडितहरूले यस्तो गुनासो राखेका हुन् । मधेश प्रदेशका ८ जिल्लाबाट बर्दिवासमा भेला भएका पीडितले मिटरब्याजीका कारण आफ्नो उठिबास भएकाले सरकारले न्याय दिनुपर्ने माग गरेका छन् ।
भेलामा रौतहटका राजा सहनीले आफ्नो किर्ते औंठाछाप बनाई अदालतमा मुद्दा दायर भएको पीडा सुनाए । उनलाई ३ लाख रुपैयाँ ऋण नतिरेको भन्दै गाउँकै रामचन्द्र सहनीकी छोरी ललितादेवी साहले मुद्दा दायर गरेकी थिइन् । औंठाछापको परीक्षणपछि रौतहट जिल्ला अदालतले उनको औंठाछाप किर्ते भएको भन्दै दोषी नभएको फैसला सुनाएको थियो । त्यसपछि फैसला भएको डेढ महिना नबित्दै रामचन्द्रकै छोरा त्रिलोकचन्द्र सहनीले राजा सहनीले ३७ लाख रुपैयाँ लिएको जाली तमसुक बनाएर फेरि अदालतमा मुद्दा दायर गरेको उनले गुनासो गरे । त्यही मुद्दामा अहिले पनि उनी अदालत धाइरहेका छन् । जिल्ला अदालतले न्याय नदिएपछि उच्च अदालत वीरगन्जमा मुद्दा चलिरहेको सहनीले बताए ।
साहुले उठिबास लगाएपछि सर्लाही ईश्वरपुर–५ की कमला दाहाल ५ वर्षदेखि सुकुम्बासी भएकी छन् । दुई पटकमा गाउँकै सञ्जय साह रौनियारबाट साढे ४ लाख ऋण लिएकी थिइन् । त्यसक्रममा सञ्जयले खाली कागजमा सही गर्न लगाएका थिए । घर भएको आफ्नो ४ कट्ठा जग्गा दृष्टिबन्धक राखेर लिएको ऋण चुक्ता नगरेको भन्दै रौनियारले रातारात धम्की दिएर घर खाली गर्न लगाएको उनको दुखेसो छ । अहिले छिमेकीकामा शरण लिएर बसेको उनले सुनाइन् । भेलामा स्थानीय मदन प्रभातले अब राज्य र कानुनले पनि पीडितलाई न्याय दिन सक्ने स्थिति नरहेको भन्दै गुनासो पोखे ।
बृहत् नागरिक आन्दोलनका अगुवा तथा अभियन्ता मनोज खतिवडाले लघुवित्तबाट पनि धेरै ब्याज लिइएको भन्दै आन्दोलन सुरु गर्नुपर्ने बताए । १५ प्रतिशत ब्याज लिने कागज बनाएर ४० प्रतिशतभन्दा बढी ब्याज असुली गर्ने र गरिबदुःखीको घरजग्गा कब्जा गरी उठिबास लगाउने साहुविरुद्ध आन्दोलन सुरु भएको किसान मजदुर संघर्ष समितिकी मधेश प्रदेश संयोजक सरस्वती मिश्रले बताइन् ।