महोत्तरी - अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीका भंगहा तथा रामगोपालपुर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा धार्मिक विद्यालयमा जाडो बिदा दिएका छन्।
भंगहा नगरपालिकाले मंगलबारदेखि ६ दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको छ। पछिल्ला केही दिनयता चिसो बढ्दै जनजीवन कष्टकर बनेपछि उक्त निर्णय गरिएको नगर प्रमुख संजीव कुमार साहले जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक चिसोले विशेषगरी साना बालबालिका, वृद्ध तथा बिरामीहरूलाई बढी असर पुर्याइरहेको हुँदा विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको हो। चिसो र शीतलहर अझै केही दिन कायम रहने मौसम पूर्वानुमान रहेकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि बिदा आवश्यक ठानिएको उहाँले बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार यादवले आज सूचना प्रकाशित गर्दै पुस ८ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा बिदा लागू हुने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बिदा वर्षे बिदाबाट कटौती हुने गरी दिइएको हो। अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठन नियमित गर्न कठिनाइ भएकाले बिदा दिनुपरेको उहाँले बताउनुभयो।
यसैगरी, महोत्तरीकै रामगोपालपुर नगरपालिकाले पनि अत्यधिक चिसोका कारण शिक्षण–सिकाइ प्रक्रियामा प्रतिकूल प्रभाव परेको भन्दै चार दिनका लागि विद्यालय बिदा दिएको छ। नगरपालिकाको कार्यालयले आज पुस ७ गते गरेको निर्णयअनुसार नगरपालिका भित्र सञ्चालित सबै सामुदायिक तथा धार्मिक विद्यालयमा मंगलबारदेखि शुक्रबारसम्म जाडो बिदा दिइएको हो।

रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आछेलाल दासले अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो। नगर प्रमुख रामदुलार साहले बढ्दो चिसोले बालबालिका, विशेषगरी साना कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई बढी असर गर्ने भएकाले सावधानीस्वरूप बिदा दिनुपरेको बताउनुभयो।
मौसम सामान्य भएपछि विद्यालय नियमित रूपमा सञ्चालन हुने उहाँले जानकारी दिनुहुँदै अभिभावकहरूलाई बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो।




