महोत्तरी– पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर–२०८२ सञ्चालनमा ल्याएको छ।

नगरपालिकाद्वारा सञ्चालित उक्त शिविरको नगर प्रमुख हरि प्रसाद मण्डलले आज एक कार्यक्रमबीच औपचारिक रूपमा समुद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। यसबाट स्थानीय नागरिकहरूले आफ्नै गाउँ–टोलमै आवश्यक सेवा प्राप्त गरी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

आज पौष ८ गते वडा नं. १ सिरसियाबाट प्रारम्भ गरिएको उक्त सेवा शिविर क्रमशः नगरपालिकाका नौवटै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ।

शिविरमार्फत योजना सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, कृषि प्रयोजनका लागि माटो परीक्षण, कृषि मिटर सिफारिस, तरकारीको मिनी किट वितरण, गोबर तथा गर्भ परीक्षण, पशुपन्छीसम्बन्धी परामर्श तथा औषधि वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सम्पूर्ण सेवाहरू उपलब्ध गराइने नगर प्रमुख मण्डलले जानकारी दिनुभयो। साथै स्वास्थ्य बीमा सेवा पनि शिविरमार्फत प्रदान गरिने बताइएको छ।

नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा उप–प्रमुख मञ्जु देवी साह, वडा नं. १, ४, ५ र ६ का वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, लेखा शाखा प्रमुख विजय कुमार यादवसहित नगरपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








