महोत्तरी। इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको चार दशकपछि आफ्नै जग्गाको औपचारिक भोगाधिकार प्राप्त गरेको छ।
तत्कालिन महानिरीक्षक स्व. दिलबहादुर लामाले २०४२ सालमा उद्घाटन गरेको प्रहरी कार्यालयले चार दशकपछि जग्गा प्राप्त गरेको हो ।
आफ्नै जग्गा नहुँदा प्रशासनिक कार्य संचालन गर्न अप्ठ्यारो बनिरहेको बेला जग्गा प्राप्तिसँगै भवन निर्माण गर्ने बाटो खुलेको छ ।
यसअघि वन क्षेत्र भएको जिकिर गर्दै वन कार्यालयले कुनै संरचना बनाउन नदिईरहेको अवस्थामा भूमि व्यवस्था गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूउपयोगको औपचारिक प्रमाणपत्र आज नै प्रदान गरेको हो ।
‘प्रहरी नायव उपरीक्षकको दरबन्दी रहेको ख श्रेणीको इलाका प्रहरी कार्यालय बर्दिवासले लामो समयदेखि बिभिन्न कारणले जग्गा भोगाधिकार प्रक्रिया लम्बिरहेको बेला म आएपछि अलि बढी यसैमा केन्द्रित बने ।’ इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक विकास बमले भन्नुभयो ।‘ उहाँले सर्वपक्षीय सहयोगले आज सफलता मिलेको र अब काम गर्न जुन असहज थियो त्यसबाट मुक्ति मिल्ने आशावादी रहेको बताउनुभयो ।’

मालपोत कार्यालय बर्दिवासका प्रमुख रमेश प्रसाद गौतमका अनुसार इलाका प्रहरी कार्यालय बर्दिवासले १ बिघा ६ कठ्ठा ७ धुर जग्गाको भोगाधिकार पाएको छ ।
भूउपयोगको प्रमाणपत्र प्रदान गर्दै मालपोत कार्यालयले ६ बुँदे सर्त समेत राखेको छ । सर्तहरुमा अतिक्रमण हुनबाट संरक्षण गर्नुपर्ने, नाफामूलक वा व्यापारी प्रयोजनको लागि भाडामा दिन नपाईने र उद्देश्यअनुरूप प्रयोग नगरे नेपाल सरकारले फिर्ता गर्ने शर्त राखिएको मालपोत कार्यालय बर्दिवासका प्रमुख गौतम बताउनुभयो।
त्यस्तै नेपाल सरकारलाई कुनै प्रयोजनको लागि आवश्यक परे आंशिक वा पुरै फिर्ता गरिने र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका कुनै पनि आधारहरूमा असर नपर्ने गरि उपयोग गर्नुपर्ने पनि शर्त राखिएको छ ।
शर्तहरू स्वीकार गर्दै कार्यालय प्रमुख बमले प्रमाणपत्र ग्रहण गरेसँगै भवन निर्माण तथा प्रशासनिक कार्यहरू सञ्चालनको लागि ढोका खुल्ला भएको प्रतिक्रिया दिनुभयो ।
प्रहरी कार्यालयले कानुनी प्रावधान कै कारण निर्धक्क भएर जग्गा उपयोग गर्न नपाईरहेको अवस्थामा भोगाधिकार प्राप्त भएसँगै ४० वर्षदेखिको अप्ठ्यारोबाट मुक्ति मिलेको स्थानीय समाजसेवी पोषण थापाले बताउनुभयो।





