सुजाता राई
मोरङ । नेकपा एमाले मोरङले वर्तमान सरकारका गतिविधिलाई संविधान विरोधी र प्रतिशोधपूर्ण भन्दै सडक आन्दोलन गर्दै ज्ञापनपत्र बुझाएको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै सरकारलाई सचेत गराइएको हो।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पर्शुराम बस्नेतको नेतृत्वमा निकालिएको र्याली जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर विरोध सभामा परिणत भएको थियो। सहभागीहरूले सरकारका निर्णय र कार्यशैलीले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाएको आरोप लगाएका छन्।

सभालाई सम्बोधन गर्दै नेता बस्नेतले सरकार संविधानको भावना र जनादेशविपरीत अघि बढिरहेको बताए। उनले संसद् विघटन, लोकतान्त्रिक अभ्यासमाथि हस्तक्षेप र राज्य संरक्षित हिंसाका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै ती सबै कदम तत्काल फिर्ता लिनुपर्ने माग राखे।

उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाका योजनाकार र संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा नल्याए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए। बस्नेतका अनुसार मोरङमा सम्पन्न यो प्रदर्शन सरकारविरुद्धको औपचारिक खबरदारी मात्र नभई संघर्षको नयाँ चरणको संकेत हो।
कार्यक्रममा नेकपा एमाले मोरङका नेता–कार्यकर्ता तथा विभिन्न जनसंगठनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




