काठमाडौँ — सडक दुर्घटनामा परी २७ वर्षीय क्रिकेटर मीनश थापाको निधन भएको छ। कोशी प्रदेशका प्रतिभाशाली तथा भरपर्दो खेलाडीका रूपमा परिचित थापाको असामयिक निधनले नेपाली क्रिकेट क्षेत्र शोकाकुल बनेको छ।

दिवंगत थापाको स्मृतिमा खेलप्रेमी युवाहरूको समूह ‘बोल्टस बटालियन’ले आइतबार काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। साथै, पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै ट्राफिक नियमको पालना, सडक सचेतना र जिम्मेवार यात्राको आवश्यकता औँल्याइएको थियो।उक्त अवसरमा सहभागीहरूले खेलाडीहरू राष्ट्रका गहना भएकाले उनीहरूको जीवनको सुरक्षा र सम्मान सबैको साझा दायित्व भएको उल्लेख गरेका थिए।

छोटो समयमै उत्कृष्ट प्रदर्शनमार्फत खेलप्रेमीहरूको मन जित्न सफल थापाको निधनले नेपाली खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको खेलप्रेमीहरूले बताएका छन्।






