रामगोपालपुर नगरपालिका–९, गोठबनौलीस्थित दोरिक जनता माध्यमिक विद्यालयलाई चारकोठे भवन हस्तान्तरण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका सभामुख रामअशिष यादवले भवन हस्तान्तरण गरेका हुन् ।
रतौली युवा क्लब महोत्तरी तथा एक्सनएड नेपालको साझेदारी र रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत करिब ७४ लाख लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सभामुख यादवले विद्यालयलाई भवन दिनु सबैभन्दा उच्चतम काम भएको बताए । सडक वा अन्य भौतिक संरचना निर्माणभन्दा विद्यालय व्यवस्थापन उच्चतम कार्य भएको उनको भनाइ छ ।
सभामुख यादवले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भने, ‘घरको भगवान आमाबुबा हुन तर आमाबुवा भगवान हुन भन्ने तपाईलाई बताइदिने र सिकाइदिने गुरु भएकोले गुरु श्रेष्ठ हुन् ।’ उनले थपे, ‘गुरुले सिकाएको ज्ञान कहिल्यै खाली जाने छैन । सोही भएर मन लगाएर अध्ययन गर्नु यहि तिम्रो जिवनको लागि उपयोगी हुनेछ ।’
कार्यक्रममा रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख बरे ।
रतौली युवा क्लब महोत्तरीका कार्यकारी निर्देशक बैधनाथ चौधरीले स्थानीय अधिकार कार्यक्रममार्फत समुदायस्तरमा शिक्षा, बालअधिकार र पूर्वाधार विकासलाई जोड दिए ।




