विराटनगर - मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मैथिली लोककण्ठमा रहेसम्म जीवन्त रहने बताएका छन् ।
कोसी प्रदेशको विराटनगरमा शनिवारदेखि आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ को उद्घाटन गर्दै उनले मैथिली समृद्ध भाषा, साहित्य, संस्कृति भएको भाषा भएको भन्दै थप संरक्षण एवम् प्रवद्र्धन हुनुपर्नेमा जोड दिए । मैथिली लोकभाषा भएको चर्चा गर्दै उनले भने ‘जबसम्म मैथिली लोककण्ठमा रहन्छ तबसम्म जीवन्त रहन्छ, यसको संरक्षण एवम् प्रवद्र्धन हुनु आवश्यक छ ।’
आफू मैथिली भाषा साहित्य एवम् संस्कृतिको अभियानमा पहिलादेखि नै सक्रिय रहँदैआएको चर्चा गर्दै आगामी दिनमा समेत मैथिलीको विकास एवम् प्रवद्र्धनमा सक्रिय रहने उनले प्रतिवद्धता व्यक्त गरे । ‘पहिला म मैथिल हुँ, अनि त्यसपछि अरु केही’ मधेश प्रदेशका प्रमुख कर्णले अगाडि भने ‘मैथिली क्षेत्रमा समावेशिता आवश्यक छ तर सम्मेलनमा समावेशीकरणको प्रयास सकारात्मक छ ।’
देशमा युवा पलायनता बढ्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीयस्तरमै रोजगारीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । हस्तकला, चित्रकला तथा अन्य उद्यमहरुमा जोड दिँदै प्रदेश प्रमुख कर्णले रोजगारी अभिवृद्धि गरी युवा पलायनतालाई न्युनिकरण गर्नकालागि सम्वन्धित पक्ष बन्नुपर्ने आवश्यकता औंल्याए ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि कोसी प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । पूर्वमन्त्री जितेन्द्रनारायण देवले देशमै सबभन्दा बढी बोलिने भाषा मैथिली भएको भन्दै सरकारी तवरबाट संरक्षण आवश्यक रहेको बताए ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले प्रदेशको नाम मधेश राखिए पनि सरकारी तवरबाट मैथिली क्षेत्रमा थुप्रै कामहरु भइरहेको बताए । प्रतिष्ठानले समेत आफ्ना गतिविधिहरु मैथिली लगायतका स्थानीय भाषाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाएको उनले चर्चा गरे ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा विह्वलले यस्ता सम्मेलनहरु निरन्तर आयोजना हुनुपर्नेमा जोड दिँदै कोसी प्रदेश सरकारबाट सहयोग हुनु सकारात्मक रहेको बताए । मैथिली एसोसिएसन नेपाल र मैथिली सेवा समितिको संयुक्त सहकार्यमा आयोजित उद्घाटन समारोहमा मैथिली अभियानी बिभा झा, मैथिली एसोसिएशन नेपालका केन्द्रीय उपाध्यक्ष पंकज बर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गरे । मैथिली अभियन्ता डा. एसएन झाको अध्यक्षतामा उद्घाटन शत्र आयोजना गरिएको थियो ।
मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन उद्देश्यसहित मैथिली एसोसिएशन नेपालले पुस १२ र १३ गते गरी दुई अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सञ्चालन हुने एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा नेपाल, भारत तथा अन्य देशका गरी करिब १ सय जना विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ ।
दुई दिने सम्मेलनमा विद्यापति स्मृति सभा, शोभा यात्रा, सांस्कृतिक झाँकी प्रदर्शनी, शंखघोष, उद्घाटन समारोह सम्पन्न भएको छ । तत्पश्चात विभिन्न विषयमा विद्वत् विमर्श सत्र, कवि सम्मेलन, सांस्कृतिक साँझ (नृत्य तथा गीत प्रस्तुति) लगायतका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार ‘विराटनगर घोषणा पत्र’ जारी गर्दै सम्मेलन समापन गरिनेछ ।





