महोत्तरी - महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मा पर्ने ऐतिहासिक औरही बजारमा निर्माण गरिएको सार्वजनिक शौचालय हाल सिमेन्ट गोदामका रूपमा प्रयोग हुन थालेपछि स्थानीय व्यापारी तथा सेवाग्राही आक्रोशित बनेका छन्।
औरही नगरपालिका–१ स्थित उक्त बजारमा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा करिब १० लाख रुपैयाँ लागतमा सार्वजनिक शौचालय निर्माण गरेको थियो। पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै कक्षसहित निर्माण गरिएको शौचालयमा पेन्ट तथा साइनबोर्डसमेत जडान गरिएको छ। शौचका लागि १० रुपैयाँ र पिसाबका लागि ५ रुपैयाँ शुल्क तोकिए पनि हाल शौचालय प्रयोगविहीन भई सिमेन्ट भण्डारण स्थलमा परिणत भएको छ।

यो बजार औरही नगरपालिका–२ मा रहेको श्री प्रसाद सिंह माध्यमिक विद्यालय, औरही नैनी गौरीको मातहतमा ठेक्कामार्फत सञ्चालन हुँदै आएको छ। सार्वजनिक शौचालय सिमेन्ट गोदामका रूपमा प्रयोग भएको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार यादवले यसबारे आफूलाई कुनै औपचारिक जानकारी नरहेको बताउँदै दुरुपयोग पुष्टि भए आवश्यक कारबाहीको पहल गरिने स्पष्ट पार्नुभयो।

स्थानीय घनश्याम यादवले सार्वजनिक शौचालयलाई सिमेन्ट गोदाममा परिणत गर्नु गम्भीर लापरबाही र सार्वजनिक सम्पत्तिमाथिको खुला दुरुपयोग भएको बताउनुभयो।
उहाँले करदाताको लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचनालाई निजी प्रयोजनमा प्रयोग गर्नु कानुन र नैतिकताको ठाडो उल्लङ्घन भएको उल्लेख गर्नुभयो। सम्बन्धित निकायलाई तत्काल चेतावनी दिँदै उहाँले शौचालय अविलम्ब खाली गराई नियमित सञ्चालनको व्यवस्था नगरे तथा दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि नबढाए स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो।

शौचालय प्रयोग गर्न नपाउँदा सेवाग्राहीहरू खुला शौच गर्न बाध्य हुनु जनस्वास्थ्य र मानव मर्यादामाथिको प्रत्यक्ष आघात भएको उहाँको भनाइ छ। ऐतिहासिक औरही बजारको प्रतिष्ठामा यसले गम्भीर असर पारेको भन्दै सार्वजनिक संरचनाको संरक्षण गर्न नसकिए स्थानीय सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने उहाँले बताउनुभयो।
औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवन चौधरीले सार्वजनिक शौचालयलाई सिमेन्ट गोदामका रूपमा प्रयोग गर्नु बजार व्यवस्थापनप्रतिको गम्भीर गैरजिम्मेवारी भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो,“औरही बजारमा हरेक हप्ता सयौँ व्यापारी र हजारौँ सेवाग्राही आउने गर्छन्। यस्तो व्यस्त र ऐतिहासिक बजारमा निर्माण गरिएको सार्वजनिक शौचालयलाई प्रयोगविहीन बनाइनु लज्जास्पद विषय हो।

”उहाँले सार्वजनिक सम्पत्तिको दुरुपयोगले बजारको छवि,स्थानीय अर्थतन्त्र र जनस्वास्थ्यमा समेत नकारात्मक असर पार्ने उल्लेख गर्नुभयो। “व्यापारी, ग्राहक र बाहिरबाट आउने सेवाग्राही खुला शौच गर्न बाध्य हुनु भनेको स्थानीय सरकार र सरोकारवाला निकायको असफलता हो,”उहाँले भन्नुभयो।
पूर्व अध्यक्ष चौधरीले नगरपालिकासहित सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गर्दै सार्वजनिक शौचालय तुरुन्त खाली गराई नियमित सञ्चालनमा ल्याउन माग गर्नुभयो। दोषीमाथि स्पष्ट कारबाही नभए बजार व्यवसायी र स्थानीयवासी चुप लागेर बस्ने अवस्था नरहने चेतावनीसमेत दिनुभयो।
बजारमा किनमेलका लागि बाहिरबाट आएका सेवाग्राही श्याम यादवले नियमित सरसफाइको अभाव र बेवास्ताका कारण शौचालय प्रयोग गर्न नसकिने अवस्था बनेको बताए। केही दिनअघि शिरीष न्युज्मा समाचार आएपछि सरसफाइ भए पनि त्यसपछि पुनः सिमेन्ट गोदाम बनाइएको उहाँको भनाइ छ।

विशेषगरी हप्ताको दुई दिन मंगलबार र शुक्रबार लाग्ने औरही बजारमा सयौँ व्यापारी तथा ग्राहकको भीड लाग्ने गर्दछ। सार्वजनिक शौचालय प्रयोग गर्न नपाउँदा सेवाग्राहीहरू करिब २०० मिटर टाढा खेतमा खुला शौच गर्न बाध्य भएको स्थानीयले बताएका छन्।
यस क्षेत्रकै सबैभन्दा पुरानो तथा ऐतिहासिक बजारका रूपमा परिचित औरही बजारमा निर्माण गरिएको सार्वजनिक शौचालयको यस्तो दुरवस्था बजारको प्रतिष्ठामाथि नै प्रश्न उठाउने विषय बनेको स्थानीयको भनाइ छ।




