जीवनराज दाहाल : बर्दिवास, महोत्तरी ।
“कलैयाको सेकुवा, रौतहटको कटिया, जनकपुरको ललन माछा, सप्तरीको बरमझिया पेडा, धनुषाको कठाल दहीलगायत मधेसका मौलिक तथा स्वादिष्ट परिकारमार्फत अतिथिलाई संस्कृति र स्वादसँग जोड्ने हाम्रो प्रयास हो,” गौतम होटलका सञ्चालक हिरा गौतमले बताएका छन् ।
नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र नभई संस्कृति, संगीत र पर्यटनसँग जोडिने उत्सव पनि हो भन्ने सन्देशसहित धनुषाको लालगढस्थित गौतम होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै विशेष सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो ।
नयाँ वर्षको उत्सवलाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजना हुने उक्त महोत्सवमा सुप्रसिद्ध गायक प्रमोद खरेल र उहाँको लोकप्रिय ब्याण्ड “परम्परा” ले प्रत्यक्ष (लाइभ) सांगीतिक प्रस्तुति दिनेछन् । यसका साथै अन्य चर्चित कलाकारहरूको सहभागितामा नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

निजी क्षेत्रको पहलमा आयोजना हुन लागेको यस कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगरलगायत क्षेत्रबाट उल्लेख्य संख्यामा पर्यटक आगमन हुने अपेक्षा गरिएको छ ।
महोत्सवले स्थानीय होटल, व्यवसाय तथा आतिथ्य क्षेत्रलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ । कार्यक्रममार्फत मधेस प्रदेशको पहिचान बोकेका परम्परागत परिकारहरूको स्वाद चाख्न विशेष फुड स्टलको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागिताका लागि होटलले तीन तहको टिकट शुल्क निर्धारण गरेको छ । पहिलो तहको रु. ५ हजार, दोस्रो तहको रु. ३ हजार ५ सय र तेस्रो तहको रु. २ हजार ५ सय तोकिएको छ । उक्त शुल्कमा लाइभ कन्सर्टसहित तोकिएको प्याकेजअनुसार खाना, स्न्याक्स तथा ड्रिङ्क्सको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
संगीत, संस्कृति र स्वादको त्रिवेणीसँगै नयाँ वर्षलाई उल्लासपूर्वक स्वागत गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।





