क्षितिज विश्वकर्मा,सर्लाही - सर्लाहीसहित तराईका जिल्लामा केही दिनयता निरन्तर शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ।
चिसोका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन्।यसैबीच, समाजसेवी सन्तोष दाहालले लालबन्दी नगरपालिका–५ रञ्जितपुरस्थित महेन्द्र आदर्श प्राथमिक विद्यालयमा अध्ययनरत ११५ जना विपन्न बालबालिकालाई चिसोबाट जोगाउन जुत्ता र मोजा वितरण गर्नुभएको छ। बालबालिकाको आवश्यकताअनुसार साइज मिलाएर ११५ थान जुत्ता र मोजा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिनुभयो।
समाजसेवी दाहालको आर्थिक सहयोग तथा लालबन्दी उद्योग वाणिज्य संघको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो। संघका अध्यक्ष महेश महतोसहितको टोली विद्यालय पुगेर बालबालिकालाई जुत्ता–मोजा हस्तान्तरण गरेको थियो। कार्यक्रममा युवा समाजसेवी समिर बराइलीको समेत उपस्थिति रहेको थियो।
विद्यालयमा अध्ययनरत अधिकांश विपन्न बालबालिका चप्पलमै वा कतिपय खाली खुट्टै विद्यालय आउने गरेको अवस्थामा जुत्ता–मोजा पाएपछि उनीहरू उत्साहित देखिएका थिए। आगामी दिनमा बालबालिकालाई टोपीसमेत प्रदान गरिने बताइएको छ।
कार्यक्रमका अवसरमा लायन्स क्लब लालबन्दी सेन्चुरीका पूर्वअध्यक्ष गोपाल श्रेष्ठले बालबालिकाका लागि झोला उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको प्रधानाध्यापक दाहालले बताउनुभयो।
पछिल्लो समय सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिका कठोर चिसोका कारण स्वास्थ्य जोखिममा पर्ने गरेको स्थानीयले जनाएका छन्।




