सुजाता राई
विराटनगर। प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङको आयोजना चिना थापाको अध्यक्षतामा शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई बधाई तथा शुभकामना कार्यक्रम बिहीबार सम्पन्न भयो।

कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा बिहीवार रुबिज होटल, मुनालपथमा आयोजित कार्यक्रममा प्रेस चौतारीको केन्द्रीय सदस्य रेणु परजुलीलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार प्रदान गरेको हो।

कार्यक्रममा नेकपा एमालेबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत र दिलिप बगडियालाई बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।
प्रमुख अतिथि कार्कीले मन्तव्यका क्रममा पुरस्कृत तथा निर्वाचित सबैलाई शुभकामना दिँदै देशको राजनीतिक स्थायित्व र विधिसम्मत निर्णय आवश्यक रहेको धारणा व्यक्त गरे। उनले मुलुक विभिन्न चुनौतीबीच रहे पनि नेकपा एमाले सही निर्णयमा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथि प्रेस चौतारी नेपाल,केन्द्रिय सचिव विक्रम लुइटेलको उपस्थिति थियो भने स्वागत मन्तव्य प्रेस चौतारी मोरङकी उपाध्यक्ष जुनु भट्टराईले गरेकी थिइन् , कार्यक्रम सञ्चालन सचिव नवराज भट्टराईले सम्हाले।
उक्त कार्यक्रममा पत्रकार महासंघ कोशी प्र• अध्यक्ष भरत खड्का, प्रेस चौतारी मोरङ इन्चार्ज सुमन सुस्केरा, महासंघ केन्द्रीय सदस्य कमल रिजाल, पत्रकार महासंघ मोरङ शाखाको अध्यक्ष शुशिला पाठाक,मोरङ उपाध्यक्ष सागर थापा, विराटनगर महानगरका अध्यक्ष बलराम गिरीलगायतको सहभागी रहेको थियो।

कार्यक्रमका क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको हातबाट मायाको चिनो समेत प्रदान गरेका थिए।




