जनकपुरधाम । मधेश प्रदेशमा मानव अधिकारका घटनामा पीडित २८ जनालाई आर्थिक सहयोग र न्यायमा पहुँचका लागि पहल गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकार सहायता कक्षले सन् २०२५ मा उक्त सहयोग प्रदान गरेको हो ।
मानव अधिकार सहायता कक्षको जनकपुरधाममा आयोजित बैठकमा इन्सेकका प्रदेश संयोजक राजु पासवानले तथ्यांक सार्वजनिक गर्दै बलात्कारका १५ जना, बलात्कार प्रयासका पाँच जना, यौन दुव्र्यवहारका एक जना, अपहरणपछि बलात्कार र हत्या गरिएका घटनाका दुई जना र दाइजो तथा घरेलु हिंसाका पाँच जना पीडितलाई आर्थिक सहयोग तथा न्यायमा पहुँच सुनिश्चित गर्न पहल गरिएको बताए ।
सहयोग प्राप्त गर्ने २८ जनामध्ये आठ जना दलित, १३ जना मधेशी, पाँच जना जनजाति र दुई जना मुस्लिम समुदायका रहेका छन् ।
बैठकमा जानकारी दिँदै पासवानले भने, ‘सप्तरीका दुई, सिरहाका तीन, धनुषाका पाँच, महोत्तरीका सात, सर्लाहीका नौ र रौतहटका दुई पीडितलाई आर्थिक सहयोग र न्यायमा पहुँचका लागि निरन्तर पैरवी गरियो ।’
मानव अधिकार सहायता कक्षका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न पाँचौँ बैठकमा जिल्लागत घटनाको विवरण प्रस्तुत गर्दै आर्थिक र कानुनी सहयोग कार्यक्रमलाई थप सुदृढ गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।




