मलंगवास्थित निर्माणाधीन चारतल्ले पक्की घरको छत भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
मलंगवा नगरपालिका–१० निवासी रञ्जित यादवको निर्माणाधीन घरमा काम गरिरहेका मजदुर छतसहित जमिनमा खस्दा गम्भीर घाइते भएका थिए ।



जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार अपराह्न करिब पौने पाँच बजेतिर मलंगवा नगरपालिका–२ निवासी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरू पानी ट्यांकी राख्नका लागि बनाइएको ढलान छतमा प्लास्टर गर्ने क्रममा थिए । सोही क्रममा छत भत्किएर दुवै जना जमिनमा खसेका थिए । दुर्घटनामा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनीहरूलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा साँझ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर उत्तरमा पर्ने जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




