सन्तोष सिंह
महोत्तरी — मधेशका बस्ती पुछारमा प्रायः विपन्न समुदायको बस्ती हुन्छ। सडकनै आँगन बनेका सानो छाप्रा भएका बस्तीका आफ्नै कथा छन्।
विपन्नमध्ये सबैभन्दा पछाडि परेका डोम र मुसहर समुदायका घरमा साँझबिहानकै खाना जुटाउन समस्या छ। मजदुरीको काम नपाएको दिन मुसहर बस्तीका बासिन्दाले भोकै सुत्नु सामान्य जस्तै बनेकाे छ।
वर्षातमा ओत लाग्न छानोमा प्लास्टिकले टालटुल गरिएका टहरामा हिउँदको कठ्यांग्रिने जाडोबाट जोगिन आगो (घुर) नै सहारा हो। यीनै समस्याको थुप्रोले थिचिएकाे पिपरा गाउँपालिका–७ दनौलीको पुछारमा रहेको १० परिवार मुसहर बस्तीका २२ वर्षीय पवनदेव माझी पूर्णछात्रवृत्तिमा चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन थालेका छन्।
पवनदेवले मेडिकल अध्ययनका लागि काठमाडौंमा तयारी गर्न दुई लाख रुपैयाँ ऋण लिएको बताउँछिन्। आमा सिर्जना देवी गाउँमै मजदुरी गर्छिन् भने बुवा शिवनारायण माझी वैदेशिक रोजगारीका लागि कतारमा छन्। कतारबाट बुवाले पठाउने पैसाले पढाइ खर्च सम्भव नभएको उनले बताए।
अघिल्लो वर्ष (२०८१) अध्ययनका लागि छात्रवृत्ति पाएर बीडीएस पढ्न नामांकन गराउन काठमाडौं जाँदा एमबीबीएसको तयारी गर्ने निर्णय गरेको पवनदेवले बताए। ‘प्रवेश परीक्षाका लागि मेरो तयारी पुगेको थिएन। गाइड गर्ने पनि कोही थिएन। नाइट बसमा काठमाडौं जाँदै गर्दा राम्रो गाइड पाए एमबीबीएसमा नाम निकाल्न सक्छु भन्ने लाग्याे,’ उनले भने, ‘घरबाट हजारको प्रतिमहिना ३०० रुपैयाँ ब्याजदरमा दुई लाख ऋण लिएर काठमाडौंमा बसेर कोचिङ पढेँ। एक वर्षपछि नाम निकाल्न सफल भएँ ।’
एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निस्केपछि कलेजमा भर्ना हुन मुसहर समुदायका अभियन्ताहरूले चन्दा उठाएर दिएको रकमबाट भर्ना भएको उनले बताए।
महोत्तरीको दनौलीसँग जोडिएको धनुषाको गोगलप्रसाद नमूना माध्यमिक विद्यालय बसहियाबाट कक्षा १२ अध्ययन गरेका पवनदेवले तीन पटक प्रवेश परीक्षा दिएर एमबीबीएस पूर्ण छात्रवृत्ति पाएका हुन्।
‘पहिलो पटक परीक्षा दिँदा उत्तीर्ण भएँ तर छात्रवृत्ति पाइएन। दोस्रो पटक एमबीबीएसबाहेक बीडीएस, बीपीएचलगायत विषय पढ्न छात्रवृत्ति पाएँ। तर मन एमबीबीएसमै थियो। काठमाडौं बसेर तयारी गरेपछि तेस्रो पटक पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर मिल्यो,’ पवनदेवले भने।
पूर्ण छात्रवृत्तिमा नाम निकालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन मात्रै ८३ हजार रुपैयाँ खर्च भएको छ। आवत–जावत र भर्नाका लागि आवश्यक रकम चन्दा सङ्कलनबाट जुटे पनि ६ वर्षसम्म पढ्न आर्थिक स्रोत जुटाउनु चुनौतीपूर्ण भएको उनले बताए।
‘६ वर्षसम्म लाग्ने खर्चकै कारण डाक्टर बन्ने सपना पूरा हुन्छ कि हुँदैन भन्ने अन्योल छ। होस्टेल, खाना, पाठ्यपुस्तक र व्यक्तिगत खर्च घरपरिवारले धान्न सक्ने अवस्था छैन,’ उनले भने।
खर्चका विषयमा कलेजका सिनियरहरूसँग छलफल गरिरहेको उनले जानकारी दिए। कतारमा बुवाले खर्च कटाएर पठाउने मासिक २० हजार रुपैयाँले घरपरिवार जसोतसो चलेको छ।
छोरा पवनदेवलाई डाक्टर पढ्न सरकारले आर्थिक सहयोग गर्नुपर्ने आमा सिर्जना देवीको चाहना छ। छोराले पढेका पुराना पाठ्यपुस्तक बोरा र झोलाबाट छानीछानी बेचेर धरान पठाउन भाडा खर्च जुटाउँदैछिन्। ‘घरभरि बोरा र झोलामा रहेका किताबमध्ये काम नलाग्ने बेचेर भाडा खर्च निकाल्ने प्रयासमा छु। मजदुरी गरेर एक छाक खाएर पनि पवनदेवलाई पढाएँ। माइती र आफन्तबाट कर्जा लिएको छु। छोरालाई पढाउँदा ऋणको भारी बोकेकी छु,’ उनले भनिन्।
मुसहर बस्तीमै बसेर कक्षा १२ सम्म अध्ययन गरी पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न सफल भएपछि दनौलीको मुसहर बस्तीमा खुसीयाली छाएको छ। स्थानीयहरूले पवनदेवको प्रशंसा गरिरहेका छन्।-कान्तिपुर


