महोत्तरी - महोत्तरी प्रशासनले बर्दिवास बजार अनुगमनपछि व्यवसाय संचालनका क्रममा देखिएका त्रुटी सच्याएर अघि बढ्न व्यवसायीलाई सुझाव दिएको छ । बर्दिवासमा चलेका मार्ट,किराना पसल,डिपार्टमेन्ट स्टोर,कस्मेटिक पसल,मिठाई पसल र मसाज सेन्टरहरुको अनुगमन गर्दै मापदण्ड र नियम अनुसार व्यवसाय संचालन गर्न प्रशासनले व्यवासयीलाई सजग गराएको सचेत गराएको हो ।
ईलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपाने सहित बर्दिवास उद्योग वाण्ज्यि संघ,उपभोक्ता संरक्षण मंच, प्रहरी र सरोकारवालाले आईतबार करिब ३ घण्टा बजार अनुगमन गरेका थिए । अनुगमनका क्रममा व्यवसायको कागजपत्र चुस्त नदेखिएको,म्याद गुज्रिएको सामानहरु भेटिएको,उत्पादन मिति नभएको सामन राखिएको,मुल्य सुचि नराखिएको,बिल काटेर व्यापार नगरेको जस्ता समस्याहरु देखिएको ईलाका प्रशासन प्रमुख न्यौपानेले बताए ।

पछिल्लो समय मसाज सेन्टरलाई लिएर अनैतिक कार्य भइरहेको अवाज उठेकाले मसाज सेन्टरमा समेत अनुगमन गरिएको न्यौपानेले बताए । रोयल र रेडरोड मसाज सेन्टरमा बील काटेर व्यवासय नगरेको र मसाज गर्ने व्यक्तिको व्यक्तिगत विवरण नराखेको पाइएकाले सबैको व्यक्तिगत परिचयपत्र संगै विवरण राख्न र बिल काटेर व्यवासाय गर्न सचेत गराएको न्यौपानेले बताए ।
घर संसार र बर्दिवास घर संसार,मेट्रो मार्ट,महतो किराना पसल,एम आर बेकरी,प्रनु कस्मेटिक एण्ड गिफ्ट हाउस,श्री राम स्विट एण्ड चाट हाउस र मजास सेन्टरहरुमा भएको अनुगमन पहिलो पटक भएकोले कार्वाही नगरेर सजग र सचेत मात्रै गारएको प्रशासनाले जनाएको छ ।
अर्कोपटक पुन अनुगमन गर्दा त्रुटी देखिएमा कानुन अनुसार जरीवाना र कार्वाही गर्ने भन्दै व्यवसायीलाई अनुगमन समितिले चेतावनी समेत दिएको उपभोक्ता संरक्षण मंच का दिपेन्द्र पराजुलीले बताए ।




