धनुषा- जनता समाजवादी पार्टी (जसपा) मा निर्माण व्यवसायी बलराम महतो प्रवेश गर्ने भएका छन् ।
स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका महतो सोमवार जसपामा प्रवेश गर्न लागेका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवले महतोलाई पार्टीमा भित्र्याउने कार्यक्रम रहेको छ । अध्यक्ष यादवको हातबाट टिका लगाएर पार्टीमा उनी प्रवेश गर्ने छन् । जसपाले महतोलाई धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद (प्रतिनिधि सभा) मा उम्मेदवार बनाउन सक्छ । तर महतोले भने निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव उठ्ने बताएका छन् । ‘धनुषाको ३ र ४ बाट उम्मेदवारी दिन सक्दिन’ महतोले भने, २ नम्बरबाट टिकट पाउने आश्वासन प्राप्त भएको छ । २ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने विषयमा हाल सोच नबनाएको उनले बताए ।
सत्तासीन दलहरुको गठबन्धनले निरन्तरता पाए धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधिले टिकट पाउने छन् । गठबन्धन नभए पनि निर्वाचन क्षेत्र नम्बर २ बाट नै चुनाव लडने उनको चाहना रहेको छ । क्षेत्र नम्बर २ बाट जसपाको टिकटमा उमाशंकर अरगडियाले चुनाव जितेका थिए । हाल उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा छन् । उपमहानगरको चुनावमा महतोले ४ हजार २ सय ९० मत प्राप्त गरेका थिए । जसपाबाट जितेन्द्र यादवलेपनि प्रतिनिधि सभामा चुनाव लड्ने मनस्थितिमा छन् । क्षेत्रमा २० हजार निश्चित मत रहेको जसपाका नेताहरुको दावी छ । महतोले प्रतिनिधि सभामा चुनाव लड्नका लागि नै जसपामा प्रवेश गर्न लागेको बताए ।




