जनकपुरधाम | महोत्तरीको पिपरा गाउँपालिका–६ का अत्यधिक चिसोबाट प्रभावित ४५ बालबालिका र परिवारलाई आज न्यानो कपडासहितको झोला (कपडा किट) वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनले पिपरा गाउँपालिकाको अनुरोध र स्थानीय साझेदार संस्थासँगको सहकार्यमा उक्त सामग्री वितरण गरेको हो । वितरित गरिएको न्यानो सामग्री झोलामा थर्मस, ज्याकेट, स्वेटर, थर्माकोट, टोपी, मफलर, पञ्जा, मोजा विभिन्न १६ प्रकारका सामग्री समावेश छन्। यसैगरी सेभ द चिल्ड्रेनले आज नै सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ३, ५, ६ र ११ का चिसो प्रभावित ३०० परिवारलाइ नगरपालिकाको अनुरोधमा कम्बल वितरण गरेको छ ।

गत पुष पहिलो सातादेखि बढेको चिसोका कारण घाम नलाग्दा र हुस्सु लाग्दा मधेशको जनजीवन प्रभावित भएको छ । स्थानीय सरकारले कठाङ्ग्रिदो जाडोका कारण विद्यालय बन्द गरेका छन् जाडोबाट बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । मधेशका विभिन्न स्थानमा प्रभावित समुदायका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा सहायता वितरण गरिरहेका छन् ।




