महोत्तरी - माघे सङ्क्रान्ति नजिकिँदै जाँदा महोत्तरीसहित तराई–मधेशका हाटबजारमा सख्खर, तिल, चिउरा र मुरही (भुजा)को व्यापार उल्लेख्य रूपमा बढेको छ। माघ १ गते मनाइने माघे सङ्क्रान्तिका अवसरमा यी परिकार खाने परम्पराले पछिल्ला दिनमा बजारमा चहलपहल बढाएको हो।

व्यापार बढेसँगै महोत्तरीको औरही नगरपालिका–१ मा पर्ने औरही बजारमा चिउरा, मुरही र सख्खर बिक्री गर्ने पसलको सङ्ख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। सामान्य दिनमा तीन–चारवटा मात्र यस्ता पसल सञ्चालनमा रहने गरेकामा हाल दुई दर्जनभन्दा बढी पसल खुलेका छन्। तराई–मधेशका अधिकांश घरमा सख्खर मिसाएर तिल, चिउरा, मुरही र जुनेलोका डल्ला बनाएर खाने चलन रहेकाले माग बढेको व्यापारीहरू बताउँछन्।

औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीका अनुसार माघे सङ्क्रान्तिले स्थानीय बजारलाई चलायमान बनाएको छ। उहाँले भन्नुभयो,माघे सङ्क्रान्ति हाम्रो संस्कृतिसँग मात्र होइन, स्थानीय व्यापार, साना व्यवसायी र कृषकको आम्दानीसँग पनि जोडिएको पर्व हो।यस अवसरमा स्थानीय बजारमा आर्थिक गतिविधि बढ्ने गर्छ।

तर, व्यापारसँगै मूल्यवृद्धिले उपभोक्तालाई असर पारेको छ। औरही बजारका व्यापारी पूजन चौधरीका अनुसार माघे सङ्क्रान्तिको मागले बजार मूल्यमा दबाब परेको हो। उहाँले भन्नुभयो,माघ नजिकिँदै जाँदा तिल, सख्खर र चिउराको माग एकाएक बढ्छ।

माग बढेपछि मूल्य पनि बढ्नु स्वाभाविक हो। उहाँका अनुसार अन्य दिनमा प्रतिकिलो २०० देखि २२० रुपैयाँमा बिक्री हुने तिलको मूल्य हाल बढेर ३४० रुपैयाँसम्म पुगेको छ भने सामान्य दिनमा ९० देखि १०० रुपैयाँमा बिक्री हुने सख्खर १२० रुपैयाँ पुगेको छ। हाल चिउरा प्रतिकिलोग्राम ७५ रुपैयाँ र मुरही १०० रुपैयाँमा बिक्री भइरहेको छ।

उपभोक्ताले भने मूल्यवृद्धिप्रति असन्तुष्टि जनाएका छन्। औरही बजारमा किनमेल गर्न आएका घनश्याम यादवले बजार भाउमा एकरूपता नभएको गुनासो गर्नुभयो।एउटै सामानको मूल्य पसलअनुसार फरक–फरक छ,उहाँले भन्नुभयो,पर्वको समयमा सरकारी निकायबाट नियमित अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्य लिने अवस्था देखिन्छ।उहाँले उपभोक्तालाई राहत हुने गरी बजार अनुगमन कडाइका साथ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यसैबीच, बजारमा तरुल, सख्खरखण्ड, पिँडालु र अन्य कन्दमूलको बिक्री पनि राम्रो भएको छ। पहाडी समुदायले माघे सङ्क्रान्तिमा उपभोग गर्ने तरुल र पिँडालु हाल मधेसी समुदायले समेत प्रयोग गर्न थालेका छन्।

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिका दिन खिचडी, मुरही, चिउरा र तिलको लड्डु खाने चलन छ। माघे सङ्क्रान्तिका दिन उपभोग गरिने तिल, चिउरा र मुरहीका लड्डु भने पुस महिनाको अन्तिम राति नै बनाइने गरिन्छ। यसरी तयार गरिएका लड्डु विवाहित चेलीको घरमा कोसेलीका रूपमा पुर्याउने परम्परा मधेश क्षेत्रमा अहिले पनि कायम छ।






